नेकपा (माओवादी केन्द्र) ले नेकपा (एकीकृत समाजवादी) लगायतका दलहरूसँग भइरहेको पार्टी एकता प्रक्रियालाई अब ढिला नगरी टुंग्याउने निर्णय गरेको छ।
शनिबार काठमाडौंमा बसेको माओवादी केन्द्रको सचिवालय बैठकले एकता कार्यलाई तीव्रता दिने निष्कर्ष निकालेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।
उनका अनुसार माओवादी केन्द्रले एकीकृत समाजवादीसहित महेन्द्रराय यादवको नेकपा (नेसपा), प्रेमबहादुर सिंह र राजु कार्कीको नेतृत्वमा रहेको नेकपा (समाजवादी), सुवास काफ्लेको जनसमाजवादी पार्टी लगायतसँग एकता प्रक्रिया अघि बढाउने तयारी गरेको छ।
सापकोटाले माओवादी केन्द्रले नेकपाबाट अलग भएका चिरण सी तथा विप्लव नेतृत्वको नेकपालाई पनि एउटै राजनीतिक धारमा ल्याउने प्रयास जारी रहेको बताए। उनका अनुसार, ‘अब एकता गर्न ढिला गर्नु हुँदैन भन्ने निष्कर्षमा बैठक पुगेको छ।’
थप निर्णय र कार्यान्वयनका विषयमा छलफल गर्न पार्टीको केन्द्रीय समिति बैठक मंसिर १७ गते बस्ने पनि उनले बताए।
सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता सापकोटाले माओवादी केन्द्र फुट्ने अवस्था नरहेको स्पष्ट पारे। उनले भने, “जनार्दनजीको तरिका लोकतान्त्रिक र राजनीतिक पनि छैन। उहाँले केही कुरा लेखेर दिनुभएको छ। हामीले भनेका थियौँ— अध्यक्षसहित बसौँ, छलफल गरौँ, त्यसपछि निष्कर्षमा पुगौँ। तर उहाँको तरिका अराजक छ। तर, पार्टी फुट्दैन।”
सापकोटाले नेता जनार्दन शर्मालाई कारबाही गर्ने कुनै तयारी नरहेको पनि स्पष्ट पारे। उनका अनुसार, पार्टी आन्तरिक छलफल र एकतामुखी प्रक्रियामार्फत अघि बढ्नेछ।
माओवादी केन्द्रले एकता प्रक्रियालाई सुदृढ पार्दै आगामी राजनीतिक स्थायित्वका लागि सबै वामपन्थी शक्तिहरूलाई एउटै मोर्चामा ल्याउने अभियानलाई प्राथमिकता दिने जनाएको छ।

प्रतिक्रिया