थुलुङ दुधकोशी गाउँपालिका–७ देउसा क्षेत्रमा उत्पादन भएको फूल पहिलोपटक काठमाडौंमा लगेर बिक्री गरिएको छ ।
बिक्रीबाट प्राप्त रकम गाउँ फर्किएपछि स्थानीय उत्पादक कृषकलाई हस्तान्तरण गरिएको वडा अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता भोजराज कार्कीले बताएका छन् । यो वर्ष कुल ७१ घरधुरीले फूल उत्पादन गरी बजार उपलब्ध गराएका थिए । उत्पादन मात्रा र गुणस्तर अनुसार एक घरले कम्तीमा ३०० रुपैयाँदेखि बढीमा २० हजार रुपैयाँसम्म आम्दानी गरेका छन्।

यसलाई स्थानीयस्तरमै आर्थिक क्रियाकलाप सशक्त बनाउने महत्वपूर्ण कदमका रूपमा हेरिएको वडा अध्यक्ष कार्कीले बताए। फूल उत्पादन अभियानमा संलग्न स्थानीय कृषक, बजारसम्म पुर्याउन सहयोग गर्ने दाउ दाम र स्वर्णिम टोल विकास संस्थाका पदाधिकारीहरूलाई वडाले धन्यवाद प्रकट गरेको छ ।
साथै, पहिलोपटक “कृषि एम्बुलेन्स” को अवधारणा लिएर प्राविधिक तथा व्यवस्थापकीय सहयोग पुर्याउनुहुने गाउँपालिका अध्यक्ष असिम राईलाई विशेष आभार व्यक्त गरिएको कार्कीले बताए ।
वडा कार्यालयका अनुसार आगामी वर्ष यस अभियानलाई थप व्यवस्थित र ठुलो परिमाणमा विस्तार गरिनेछ।

‘गाउँको रकम गाउँमै राख्ने, बाहिरको रकम गाउँभित्र ल्याउने’ नीति अनुरूप स्थानीय उत्पादनलाई प्रोत्साहन दिइने र गाउँलाई आर्थिक रूपमा स्वावलम्बी बनाउने लक्ष्य लिइएको जनाएको छ।

प्रतिक्रिया