ओखलढुंगाको सेप्ली झरना जाने झोलुङ्गे पुलमा माथिबाट खसेको ढुंगाले क्षति पु¥याउँदा सेप्ली जाने पर्यटक आवागमनमा समस्या भएको छ । वर्षाको समयमा तीन महिना अघि माथिबाट खसेको ढुंगाले पुलको बीच भागमा प्वाल पारेर क्षति पु¥याएको पुल मर्मत नहुँदा चाडपर्वको बेलामा झरना हेर्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आवतजावतमा समस्या भएको हो ।
दशैं, दीपावली लगायतका पर्व मनाउन गाउँ फर्किएकाहरु मोलुङ गाउँपालिका–८ मा सुन्दर पर्यटकीय स्थल सेप्ली झरना घुम्न विगत देखि नै आउने गरेका छन् । अन्य समयमा छिटफुट मानिसहरु आउने गरेपनि चाडपर्वको समयमा सेप्ली झरना आउने मानिसको संख्या बढ्दो छ ।
पर्यटकीय पूर्वाधार विकास योजना अनुसार झरनालाई नजिकबाट नियाल्न गतवर्ष निर्माण गरिएको पुल यसैवर्ष क्षति हुँदा र लामो समय मर्मत नगरिँदा जोखिम बढेको स्थानीय दिपक राईले बताए । बालबालिका र वृद्धवृद्धाहरु खोला पार गर्न नसक्ने भएकाले क्षतिग्रस्त पुलबाटै जोखिम मोलेर वारपार गर्नुपरेको उनको भनाई छ ।
मोलुङ गाउँपालिका ८ की आशा राईका अनुसार यसवर्ष पुल क्षतिग्रस्त भएको र उक्त क्षेत्रमा जोखिम रहेको सन्देशले विगतको तुलनामा सेप्ली आउने पर्यटकको संख्या घटेको छ ।
नजिकैसम्म सडकको पहुँच भएपनि वर्षामा अवरुद्ध भएको सडक स्तरोन्नती नगरिँदा सवारीमा सेप्ली जाने पर्यटकलाई समेत समस्या छ ।
झोलुङ्गे पुलमा परेको प्वालका कारण जोखिम बढिरहेको अवस्थामा तत्काल मर्मत नगरिएको भन्दै स्थानीयले जनप्रतिनिधिको आलोचना गरिरहेका छन् ।
मोलुङ गाउँपालिका–८ का वडा अध्यक्ष सुधीर राईले भने बर्षायाममा सडक अवरुद्ध भएकाले मर्मतका लागि आवश्यक सामाग्री पुलसम्म पु¥याउन नसक्दा मर्मत कार्य अघि बढ्न नसकेको बताए । केही दिनमा सडक सञ्चालन भएपछि पुल मर्मत कार्य सुरु गर्ने तयारी रहेको उनको भनाई छ ।
सुन्दर र आकर्षक भएकाले सेप्ली झरना जिल्लाको एक आन्तरिक पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ ।
मोलुङ गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्य भएपनि आवश्यक पूर्वाधार विकास र प्रचारप्रसार हुननसक्दा सेप्ली ओझेलमै छ ।
ओखलढुंगाका पोकली, रातमाटे र सेप्ली लगायतका चर्चित झरनामा असोज, कार्तिकको समयमा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् ।

प्रतिक्रिया