मधेसका विभिन्न जिल्लामा आज छठ महापर्वको दोस्रो दिन ‘खरना’ विधि श्रद्धा र निष्ठाका साथ मनाइँदैछ। शनिबार ‘नहाय–खाय’ विधिबाट पर्व सुरु गरेका बर्तालु आज दिनभरि निराहार उपवास बसेर बेलुका चन्द्रदर्शनपछि खरना विधि सम्पन्न गर्ने तयारीमा छन्।
छठ पर्वमा आत्मशुद्धि र संयमलाई विशेष स्थान दिइन्छ। मिथिलाको परम्परा अनुसार बर्तालुले सूर्योदयअघि स्नान गरी दिनभर व्रत बसेपछि साँझ माटाको नयाँ चुल्होमा सक्खर, दूध र चामलको खिर पकाएर छठी मातालाई चढाउने चलन छ। केराको पातमा राखिएको खिरलाई कूलदेवता र छठी देवीलाई अर्पण गरेपछि बर्तालु र परिवारका सदस्यले प्रसादस्वरूप ग्रहण गर्छन्।
विद्वान्हरूका अनुसार ‘खरना’ विधि आत्मसंरक्षण, स्वधर्म र पापमोचनको प्रतीक हो। मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठका प्राचार्य हेमनारायण लाल कर्णका अनुसार यो दिन आत्मसंयम र श्रद्धा परीक्षणको दिनका रूपमा लिइन्छ।
मुख्य व्रत भने कात्तिक शुक्ल षष्ठीका दिन अर्थात् भोलि सोमबार मनाइनेछ। त्यस दिन बर्तालुले जलाशय घाटमा पुगेर अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिनेछन्। भोलिपल्ट सप्तमीका बिहान उदाउँदो सूर्यलाई दोस्रो अघ्र्य दिएर पर्व समापन गरिन्छ। मिथिलामा यी विधिलाई क्रमशः ‘सझुका अरख’ र ‘भोरका अरख’ भनिन्छ।
छठ पर्वमा ठकुवा, भुसुवा लगायतका प्रसाद घरमै ढिकी–जाँतोमा तयार गरिन्छ र आफन्तजनलाई वितरण गर्ने परम्परा छ। घाट सफाइ, सजावट र सामूहिक सहभागिताले यो पर्वलाई सामाजिक एकता र सांस्कृतिक साझेदारीको प्रतीक बनाएको छ।
पहिले मधेसी समुदायमा सीमित यो पर्व अहिले पर्वते मूलका हिन्दू तथा अन्य धर्मावलम्बीले समेत मनाउन थालेपछि छठ महापर्व देशभर साझा श्रद्धाको पर्व बनेको जलेश्वरका शिक्षाविद् अजयकुमार झाले बताए।

प्रतिक्रिया