महाकवि देवकोटाको जन्मजयन्ती नेचा सल्यानमा भव्य रूपमा मनाइयो

साझा प्रेस
400
Shares

नेचा सल्यान गाउँपालिका स्थित चेतना विस्तार परिवारले सोमबार महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औं जन्मजयन्ती विविध सांस्कृतिक कार्यक्रमसहित भव्य रूपमा मनाएको छ।

कार्यक्रममा वक्ताहरूले देवकोटाको जीवनी र कृतित्वमाथि विस्तृत चर्चा गर्दै उहाँको साहित्यिक योगदानले नेपाली भाषा र साहित्यलाई विश्वस्तरमा पुर्‍याएको उल्लेख गरेका थिए ।कार्यक्रम अन्तर्गत प्रतियोगितात्मक देउसी भैलो, कविता वाचन र स्रष्टा सम्मान कार्यक्रमसमेत आयोजना गरिएको थियो । देउसी भैलो प्रतियोगितामा संस्कृति संरक्षण समूह, मखमली आमा समूह, सिंहदेवी समाज, राधाकृष्ण सत्संग समाज, क्रियटिभ युथ क्लब नेचा, जमरकट्टेल प्रतिष्ठान, मारूनी समूहलगायत आठ समूहले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा जमरकट्टेल सेवा प्रतिष्ठान प्रथम, सिंहदेवी सेवा समाज गुठी द्वितीय र मारूनी समूह तृतीय भएका छन् । विजेताहरूलाई क्रमशः रु ५,०००, रु ३,००० र रु २,००० नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरियो।

साहित्यिक क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएका नेचा सल्यानका चर्चित कवि तथा समालोचक हरि कट्टेललाई सोही अवसरमा प्रशंसा पत्रद्वारा विशेष सम्मान गरिएको थियो। कार्यक्रममा पन्ध्र जना कविहरूले आफ्ना कविता वाचन गरेका थिए भने विविध सांस्कृतिक प्रस्तुतिहरू रहेका थिए।

कार्यक्रम संस्थाका अध्यक्ष जगन्नाथ बास्तोलाको अध्यक्षतामा सम्पन्न भएको थियो।