नेपालीको दोस्रो ठूलो पर्व तिहारका अवसरमा देशभर सामान्य मौसम रहने भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको सामान्य प्रभाव रहने भएकाले तिहारका दिनहरूमा देशका केही पहाडी भूभागमा आंशिकदेखि साधारण बदली देखिनेछ । तर, उल्लेखनीय रूपमा कुनै ठूलो मौसम प्रणाली सक्रिय नभएकाले अधिकांश भूभागमा मौसम सफा रहने जनाइएको छ ।
महाशाखाले प्रकाशन गरेको कात्तिक ३ देखि ६ गतेसम्मको पूर्वानुमानअनुसार लक्ष्मीपूजाको दिन (कात्तिक ३ गते) पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा फाटफुट वर्षाको सम्भावना छ ।
कात्तिक ४ गते पनि देशका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा सफा मौसम रहने पूर्वानुमान गरिएको छ । सो दिन कोशी, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा हुन सक्नेछ ।
कात्तिक ५ गते पहाडी क्षेत्रमा आंशिकदेखि साधारण बदली रहने र कोशी तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
भाइटीकाको दिन (कात्तिक ६ गते) कोशी र मधेस प्रदेशलगायत देशका धेरै भागमा आंशिकदेखि साधारण बदली रहनेछ । पहाडी भूभागका केही स्थानमा हल्का वर्षा र उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ ।
महाशाखाले तिहारको अवधिमा ठूलो वर्षा वा अप्रत्याशित मौसमी प्रभावको सम्भावना नभएकाले सामान्य तयारीका साथ पर्व मनाउन सकिने जनाएको छ ।


प्रतिक्रिया