यस वर्षको मनसुन नेपालबाट पूर्ण रूपमा बाहिरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबारदेखि मनसुन नेपालको सम्पूर्ण भू–भागबाट निष्कासन भएको हो ।
महाशाखाले जनाएको छ कि मनसुन बाहिरिएसँगै देशभर हाल कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । तर, सामान्य वायुमण्डलीय प्रभावका कारण पूर्वी नेपालका केही स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ ।
आज (शनिबार) दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा मुख्यतया सफा मौसम रहने महाशाखाले जनाएको छ ।
यस्तै, कोशी प्रदेशको पहाडी क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ । आज राति पनि सोही प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने र अन्य क्षेत्रमा सफा मौसम रहने अनुमान गरिएको छ ।
मनसुन बाहिरिएसँगै अब देशभर शरद ऋतुको मौसम प्रभावकारी हुने मौसमविद्हरूको भनाइ छ । यस अवधिमा बिहान–बेलुका हावाहुरी र हल्का चिसो अनुभव हुने गर्छ ।

प्रतिक्रिया