नेपाल महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसियाविरुद्धको पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय शृंखला जितेको छ ।
बुधबार विहान कुआलालम्पुरमा सम्पन्न पाँचौं तथा निर्णायक खेलमा नेपालले घरेलु टोली मलेसियालाई ५ विकेटले पराजित गर्दै शृंखला ३–२ ले आफ्नो पक्षमा पारेको हो ।
पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०३ रनको योगफल बनाएको थियो । कप्तान विनिफ्रेड दुराइसिंघामले सर्वाधिक ४० रन जोडिन् । नेपालका लागि कविता कुँवर र राजमती ऐरी बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै समान ३–३ विकेट लिए। कविताले ४ ओभरमा मात्र १६ रन खर्चिइन् ।
लक्ष्य पछ्याउने क्रममा नेपालले १८ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । रुबी पोदारले सर्वाधिक २६ रन बनाइन् भने पूजा महतोले २३ रनको योगदान दिइन् । कप्तान रुबिना क्षेत्री १५ रनमा अविजित रहिन् ।
मलेसियाका नुर दानिया स्युहादा, आइसा एलिसा, आइना हमिजा, नुर आलिया बत्रिसिया र माहिरा इजातीले प्रत्येकी १–१ विकेट लिए ।
नेपालले यसअघि पहिलो खेलमा ३ रनले पराजय बेहोरेको थियो भने दोस्रो खेलमा ६ विकेटले जितेको थियो । तेस्रो खेलमा १३ रनले हार्दै, चौथो खेलमा ६ विकेटको जित हात पारेपछि निर्णायक पाँचौं खेलले शृंखलाको नतिजा तय गरेको हो ।
यस जितसँगै नेपाल महिला टोलीले विदेशी भूमिमा महत्वपूर्ण टी–२०आई शृंखला जित्दै आफ्नो आत्मविश्वास बलियो बनाएको छ ।

प्रतिक्रिया