अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहितका सबै आयुक्तहरूको राजीनामा माग्दै केही युवा टंगालस्थित आयोग कार्यालय पुगेका छन् ।
‘जेन-जी मुभमेन्ट अलायन्स’ नामक समूहले सोमबार बिहान आयोगमा निवेदन बुझाउन पुगेको हो । उनीहरूले प्रमुख आयुक्त राईको निष्पक्षतामाथि प्रश्न उठाउँदै अख्तियार नेतृत्व तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन् ।
यसअघि उक्त समूहले राई र अन्य आयुक्तलाई इमेलमार्फत दबाबमूलक पत्र पठाउँदै, “अख्तियारमा दलका मान्छे नियुक्त भएकाले निष्पक्ष छानबिनमा शंका उत्पन्न भएको” उल्लेख गरेको थियो। समूहले नयाँ, निष्पक्ष र गैर–राजनीतिक व्यक्तिहरूलाई नेतृत्वमा ल्याउन सरकारसँग आग्रह गरेको छ ।
सो आन्दोलनका कारण टंगाल क्षेत्रमा बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनअनुसार सुरक्षा चुनौती भएका स्थानमा विशेष सतर्कता अपनाइएको र आज बिहानैदेखि प्रहरीको कमाण्डो टोली समेत परिचालन गरिएको प्रहरी स्रोतले जनाएको छ ।
अख्तियारले यस विषयमा औपचारिक प्रतिक्रिया नदिएको भए पनि आयोगका एक अधिकारीले नाम नखुलाउने सर्तमा भने, “अख्तियार स्वतन्त्र र निष्पक्ष संस्थाका रूपमा आफ्नो काममा निरन्तर प्रतिबद्ध छ।”

प्रतिक्रिया