विपद् जोखिम न्यूनीकरण परिषद्को बैठक बस्दै

सातै प्रदेशका मुख्यमन्त्री सहभागी हुने

साझा प्रेस
0
Shares

प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज (मंगलबार) बिहान ११ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बस्दैछ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टका अनुसार बैठकमा हालैका बाढीपहिरोका कारण उत्पन्न विपत्तीको समीक्षा गर्दै राहत, उद्धार र पुनर्निर्माणसम्बन्धी विषयमा निर्णय गरिनेछ।

बैठकका लागि नौवटा एजेन्डा तय गरिएको छ। तीमध्ये प्रमुख रूपमा बाढीपहिरो पीडित परिवारलाई राहत वितरण, अवरुद्ध सडक तथा अत्यावश्यक सेवा सञ्चालन, मृतक र बेपत्ता व्यक्तिका परिवारलाई कानुन अनुसार राहत उपलब्ध गराउने, अस्थायी आवास निर्माण, विपद् पश्चात फैलिन सक्ने महामारीजन्य रोग व्यवस्थापन, र पुनर्निर्माणका दीर्घकालीन उपायका विषयमा छलफल हुने जनाइएको छ।

असोज १७, १८ र १९ गतेको मौसमी प्रणालीका कारण देशका विभिन्न स्थानमा परेको अविरल वर्षासँगै आएको बाढीपहिरोबाट ६० जनाको ज्यान गएको छ। सबैभन्दा बढी क्षति इलाम जिल्लामा भएको जनाइएको छ। बाढीपहिरोका कारण सडक, पुल, जलविद्युत् आयोजना लगायतका भौतिक संरचनामा पनि करोडौं रुपैयाँको क्षति पुगेको प्राधिकरणले जनाएको छ।

बैठकमा अर्थमन्त्री, ऊर्जा मन्त्री, गृह मन्त्री, उद्योग मन्त्री, शिक्षा मन्त्री, कृषि मन्त्री, सञ्चार मन्त्रीसहित सातै प्रदेशका मुख्यमन्त्री सहभागी हुनेछन्। साथै, पूर्वमन्त्री डा. गंगालाल तुलाधर, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्य सचिव, प्रधानसेनापति र गृहमन्त्रालयका सचिव पनि बैठकमा उपस्थित रहने कार्यक्रम रहेको छ।

बैठकबाट बाढीपहिरो पीडितका लागि तत्काल राहत वितरण र दीर्घकालीन पुनर्निर्माणको स्पष्ट योजना तयार हुने अपेक्षा गरिएको छ।