मनसुनी वायु क्रमशः कमजोर हुँदै गए पनि पश्चिमी वायुको प्रभावले देशको पश्चिमी भागमा वर्षा जारी रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भू–भागका धेरै स्थानहरूमा तथा गण्डकी प्रदेशको पश्चिमी भू–भागका केही स्थानहरूमा हाल पश्चिमी वायु सक्रिय रहेको विभागले जानकारी दिएको छ। सोही कारणले ती क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागको विवरणमा उल्लेख छ।
गत २४ घण्टामा सबैभन्दा धेरै वर्षा डडेलधुराको ज्यामिरखालमा ६१.२ मिलिमिटर मापन गरिएको छ भने सिन्धुलीको मरिनमा ५४ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ।
विभागका अनुसार आज र भोलि पनि पश्चिम नेपालका विभिन्न स्थानमा हल्कादेखि मध्यम तथा अन्य ठाउँमा हल्का वर्षाको सम्भावना छ। दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागमा, साथै बाँकी प्रदेशका केही पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।
आज राति पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी तराई भूभागका एक–दुई स्थानहरूमा मेघगर्जन/चट्याङ सहित वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।
यसैबीच, मनसुनी वायु भने देशबाट क्रमशः बाहिरिन सुरु गरिसकेको छ। विभागका अनुसार असोज २० गतेदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशबाट मनसुन पूर्ण रूपमा बाहिरिएको छ। सोही दिन लुम्बिनी प्रदेशको पश्चिमी भागका धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भागका केही स्थानबाट पनि मनसुन बाहिरिएको थियो।
मनसुनी वायु कमजोर बन्दै गइरहेकाले बाँकी भू–भागबाट पनि केही दिनभित्र मनसुन पूर्ण रूपमा बाहिरिने विभागको अनुमान छ।
स्मरणीय छ, नेपालमा मनसुन भित्रिने सरदर मिति जुलाई १३ (असार २९) र बाहिरिने सरदर मिति अक्टोबर २ (असोज १६) हो। तर यस वर्ष मनसुन १५ दिन छिटो (मे ३०/जेठ १६) भित्रिएको र चार दिन ढिलो (अक्टोबर ६/असोज २०) देखि बाहिरिन सुरु गरेको विभागले जनाएको छ।

प्रतिक्रिया