नेपाल आज वेस्ट इन्डिजसँग पहिलो खेल खेल्दै

साझा प्रेस
0
Shares

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक खेल खेल्दैछ।

संयुक्त अरब इमिरेट्स (युएई)को शारजाह क्रिकेट मैदानमा हुने खेल ‘युनिटी कप अन्तर्राष्ट्रिय टी–२० शृङ्खला’अन्तर्गत पहिलो खेल हो।

नेपालले पहिलोपटक दुई पटकको टी–२० विश्वकप विजेता वेस्ट इन्डिजसँग अन्तर्राष्ट्रिय टी–२० खेल खेल्न लागेको हो। तीन खेलको शृङ्खलामा दोस्रो खेल असोज १३ गते र तेस्रो खेल १४ गते खेलाइने कार्यक्रम छ।

यस शृङ्खला नेपाली टोलीका लागि महत्त्वपूर्ण मानिएको छ, किनकि यिनै खेललाई आधार मानेर नेपालले ओमानमा हुने आगामी आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–पेसिफिक छनोट प्रतियोगिताका लागि तयारी गर्नेछ।

नेपाली टोली

रोहित पौडेलको कप्तानीमा नेपाली टोली मैदानमा उत्रिनेछ। उपकप्तान दीपेन्द्रसिंह ऐरी, स्टार स्पिनर सन्दीप लामिछाने, अनुभवी बलर सोमपाल कामी, कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल र ओपनर आसिफ सेख टोलीमा समावेश छन्। त्यस्तै आदिल आलम, करण केसी, नन्दन यादव, सन्दीप जोरा, आरिफ सेख, ललितनारायण राजवंशी, गुलशन झा र साहब आलम पनि टोलीमा रहेका छन्।

वेस्ट इन्डिज टोली

अकिल होसेनको कप्तानीमा वेस्ट इन्डिज मैदानमा उत्रिँदैछ। टोलीमा फाबियन एलेन, जेवेल एन्ड्र्यू, अकिम अगस्ट, नभिन बिडाइस, जेडियाह ब्लेड्स, किएसी कार्टी, करिमा गोरे, जेसन होल्डर, अमिर जान्गू, काइल मेयर्स, ओबेड मेकोए, जिसान मोटारा, रामोन सिमन्ड्स र शमार स्प्रिङ्गरजस्ता खेलाडी रहेका छन्।

आजको खेल नेपाली क्रिकेटको इतिहासमा अर्को सुनौलो अध्याय हुने अपेक्षा गरिएको छ।