जेनजी प्रदर्शनका कारण २२ अर्बभन्दा बढीको बिमा दाबी

साझा प्रेस
0
Shares

जेनजी पुस्ताको प्रदर्शनका क्रममा भएको क्षतिको बिमा दाबी २२ अर्ब २५ करोड ६५ लाख रुपैयाँ पुगेको छ । नेपाल बिमा प्राधिकरणका अनुसार सबैभन्दा बढी दाबी बागमती प्रदेशमा परेको छ, जसको मात्रा मात्रै १७ अर्ब ९७ करोड ७२ लाख रुपैयाँ बराबरको छ ।

गत भदौ २३ र २४ गते भएका प्रदर्शनका क्रममा सरकारी तथा निजी सम्पत्तिमा आगजनी, तोडफोडलगायतका घटना भएका थिए । प्राधिकरणका अनुसार यस्ता निजी सम्पत्तिमा भएको क्षतिको आधारमा माइक्रो इन्स्योरेन्स कम्पनीसहित १८ वटा बिमा कम्पनीमा जम्मा २,४७८ वटा दाबी आवेदन परेका छन् । तीमध्ये बागमती प्रदेशमा मात्र १,३४३ वटा आवेदन दर्ता भएका छन् ।

कम्पनीगत आधारमा ओरियन्टल इन्स्योरेन्समा पाँच अर्ब २२ करोड ९८ लाख रुपैयाँ बराबरको दाबी परेको छ भने सिद्धार्थ इन्स्योरेन्समा पाँच अर्ब आठ करोड २८ लाख बराबरको आवेदन परेको प्राधिकरणले जनाएको छ ।

सम्पत्ति बिमाका ५३८, मोटर बिमाका १,७७८, इञ्जिनियरिङ तथा ठेकेदार जोखिमका १३२, परिवहन बिमाका ११ र अन्यमा १९ वटा आवेदन दर्ता भएका छन् ।

प्रदेशगत विवरणअनुसार कोशीमा ३२२, मधेशमा २४६, बागमतीमा १,३४३, गण्डकीमा १८४, लुम्बिनीमा २०२, कर्णालीमा २२ र सुदूरपश्चिममा १५९ वटा दाबी परेका छन् ।

प्राधिकरणका अनुसार ठूलो मात्रामा भौतिक सम्पत्तिको क्षति भएकाले दाबीको मात्रा अझै बढ्न सक्ने देखिएको छ ।