‘बलिदान’ ट्रेलरले दुई दिनमै १३ लाख भ्युज पार गर्दै चर्चा कमायो

साझा प्रेस
1.7k
Shares

बहुप्रतिक्षित नेपाली चलचित्र ‘बलिदान’ को ट्रेलरले रिलिज भएको दुई दिनमै १३ लाखभन्दा बढी पटक युट्युबमा हेरिएको छ । संविधान दिवसको अवसर पारेर सार्वजनिक गरिएको झन्डै ३ मिनेट लामो ट्रेलरलाई दर्शकले अत्यधिक रुचाएको निर्माण टिमले जनाएको छ ।

सन्तोष सेनको निर्माण र निर्देशनमा बनेको फिल्म ‘बलिदान’ आगामी फूलपाती (१३ असोज) मा प्रदर्शन हुने तयारीमा छ । एक छोराले आमा र मातृभूमिको रक्षाका लागि गर्ने संघर्षलाई केन्द्रमा राखेर तयार गरिएको यो फिल्ममा एक्सन, भावनात्मक संवाद र देशभक्तिपूर्ण कथा प्रस्तुत गरिएको छ ।

अभिनेता समीर भट्टलाई केन्द्रमा राखिएको ट्रेलरमा एक्सन दृश्य, संवाद, ब्याकग्राउन्ड स्कोर र छायांकनको स्तरले प्रशंसा पाएको छ । ट्रेलरको अन्त्यमा समीरले बोलेको संवाद — “देश बेच्ने कुटिलको बली, नत्र मातृभूमिका लागि यो ज्यान बलिदान” — ले फिल्मको भावनात्मक गहिराई झल्काउँछ ।

फिल्ममा समीरसँगै अर्पण थापा, सौगात मल्ल, सन्तोष सेन, हेमन्त बुढाथोकी, ऋचा शर्मा, प्रेम पुरी, कविता राय, कामेश्वर चौरासिया, जीवन बराल र प्रजल दुलालको अभिनय छ । अभिनेत्री ऋचा शर्मा समीरकी आमाको भूमिकामा देखिएकी छन् भने अर्पण थापा नेताको भूमिकामा प्रस्तुत भएका छन् ।

आसुसेन फिल्म्सको ब्यानरमा बनेको ‘बलिदान’ का निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन् । दर्शक र फिल्म विश्लेषकले दशैंमा प्रदर्शन हुने ‘बलिदान’ ले बक्स अफिसमा आक्रामक व्यापार गर्ने अनुमान गरेका छन् ।