३८ घण्टादेखि अलपत्र यात्रु

बर्षात नभए अपरान्हबाट खुल्न सक्छ सडक

साझा प्रेस
50
Shares

झण्डै ३८ घण्टादेखि अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड अझै खुलेको छैन । तुइन खोलाको पहिरोले रोकिएको बाटोले सयौं सवारी साधन बीचमै रोकिएका छन् । तर, यसबीचमा यात्रु र चालकहरु बाटोमै सामाजिक सहयोग मा भर पर्न बाध्य भएका छन् ।

जेसीज इच्छाकामनादेखि स्थानीय संघसंस्था र व्यक्तिहरुले निःशुल्क खाना, पानी, खाजा वितरण गर्न थालेपछि अलपत्र यात्रुले ठूलो राहत महसुस गरेका छन् । “सडक कहिले खुल्छ थाहा छैन, तर कम्तीमा खाना–पानीको चिन्ता भने हटेको छ,” कुरिनटारमा अड्किएका एक यात्रुले भने ।

यता, यातायात व्यवसायीहरुले मजदुरलाई नि:शुल्क खाना–खाजाको व्यवस्था मिलाएका छन् भने नारायणगढतर्फका संघसंस्था र स्थानीयले चाउचाउ, बिस्कुट र पानी बाँडिरहेका छन् ।

सडक डिभिजन कार्यालयका इन्जिनियर कृष्ण आचार्यका अनुसार पहिरो स्थिर भए दिउँसोसम्म बाटो खुल्ने सम्भावना छ, तर माथिल्लो भागमा पत्रे चट्टान भएकाले अझै जोखिम यथावत छ ।

यसबीचमा, यात्रुहरूलाई कठिनाई कम गर्न स्थानीय तह र संघसंस्थाहरु सक्रिय भएपछि “सडक बन्दले मात्र होइन, सहयोगले पनि मानवता बाँचिरहेको छ” भन्ने उदाहरण मुग्लिन–नारायणगढ सडकखण्डमा देखिएको छ ।