पितृपक्ष आज समापन हुँदै

साझा प्रेस
100
Shares

आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष आज अपराह्न दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन हुँदैछ ।

धार्मिक परम्पराअनुसार पितृपक्षका १५ दिन र आश्विन शुक्ल प्रतिपदासहित सोह्र दिनसम्म दिवङ्गत पितृलाई श्रद्धा अर्पण गर्ने विधि ‘सोह्र श्राद्ध’ आज आमावास्या अर्थात् औँसी तिथिमा पुगेर टुंगिने हो ।

धर्मशास्त्रविद्हरूका अनुसार कुनै कारणले अरु दिन श्राद्ध गर्न नसकिएकाले आज गर्नु पर्ने मान्यता छ । तर विशेष कारणले आज पनि गर्न नसकिएमा आश्विन शुक्ल प्रतिपदादेखि पञ्चमीसम्म, कार्तिक कृष्ण औँसी (लक्ष्मीपूजा), वा मङ्सिरसम्मका अन्य शुभ तिथिहरूमा पनि श्राद्ध गर्न सकिने शास्त्रीय व्यवस्था छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा.डा. देवमणि भट्टराईका अनुसार, पितृश्राद्ध नगर्दा अक्षम्य दोष लाग्ने शास्त्रीय वचन भएकाले श्रद्धालुहरूले जसरी पनि श्राद्ध गर्ने गरेका छन् । उनले विधिपूर्वक १० महिनासम्म वैदिक मन्त्रसहितको जप गर्ने विकल्पसमेत धर्मग्रन्थमा रहेको जानकारी दिए ।

आज पितृपक्षको अन्तिम दिनमा काठमाडौंको गोकर्णेश्वर, नुवाकोट–रसुवाको बेत्रावती, चितवनको देवघाट, नवलपरासीको त्रिवेणीलगायत प्रमुख तीर्थस्थलमा बिहानैदेखि श्रद्धालुको घुइँचो देखिएको छ ।

वैदिक सनातन हिन्दू परम्पराअनुसार ठूला माङ्गलिक कार्य, यज्ञयज्ञादि वा पर्वहरू अघि पितृलाई सम्झेर सोह्र श्राद्ध गर्ने चलन रहेको छ । धार्मिक विश्वासअनुसार यस विधिबाट पितृ तृप्त हुने र सन्तान पितृऋणबाट मुक्त हुने विश्वास गरिन्छ ।

पितृपक्ष समापनसँगै दुर्गापक्ष अर्थात् बडादसैँ सुरु हुनेछ । असोज ६ गते सोमबार घटस्थापनासहित यस वर्षको दुर्गापक्ष प्रारम्भ हुनेछ ।