संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ आज देशभर विविध कार्यक्रममार्फत मनाइँदैछ। विगतका वर्षझैँ यसपटक पनि मूल समारोह काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा आयोजना गरिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८ः३० बजे सुरु भएको समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्नुहुनेछ। यस वर्षको विशेष राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै झाँकीलगायत सांस्कृतिक प्रस्तुतिहरू भने स्थगित गरिएको छ।
संविधान दिवस नेपालको राजनीतिक यात्रामा ऐतिहासिक उपलब्धि मानिन्छ। लामो सङ्घर्ष र बलिदानीपूर्ण यात्रापछि दोस्रो संविधानसभाबाट २०७२ साल असोज ३ गते ‘नेपालको संविधान’ घोषणा गरिएको थियो। तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा संविधानसभाको विशेष बैठकबाट संविधान जारी भएको घोषणा गर्नुभएको थियो।
यस संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली, मौलिक अधिकार र नागरिक स्वतंत्रताको आधार तय गरेको छ। संविधान दिवसका अवसरमा आज सरकारी कार्यालय, सुरक्षा निकाय र विद्यालयहरूमा ध्वजारोहण, विभिन्न औपचारिक कार्यक्रम र राष्ट्रका लागि योगदान पुर्याउने प्रति सम्मान व्यक्त गरिएको छ।
प्रतिक्रिया