असोज १ गते देशभर शिल्पकार र निर्माणका देवता विश्वकर्मा बाबाको पूजाआजा गरिएको छ। वैदिक परम्पराअनुसार ब्रह्माका पुत्र मानिने विश्वकर्मा देवतालाई देवताका महल, भवन, हतियार र यानका निर्माता तथा शिल्पविद्याका आचार्यका रुपमा सम्मान गरिन्छ।
नेपालका विभिन्न ग्यारेज, कारखाना, उद्योगधन्दा र उत्पादन स्थलहरुमा आज विशेष पूजा आयोजना गरिएको छ। विशेषगरी मेसिनरी, धातु, हस्तकला र प्रविधिसम्बन्धी कार्यस्थलहरु आज झकिझकाउ सजाइएका छन्।
यस दिन विश्वकर्मा बाबाको मूर्ति स्थापना गरी पूजा गर्ने र भोलिपल्ट नदी, ताल वा तलाउमा विसर्जन गर्ने चलन छ। साथै यातायातका साधनको पनि विशेष पूजा हुने भएकाले सार्वजनिक सवारीसाधन सहजै उपलब्ध नहुने अवस्था रहन्छ।
विश्वकर्मा पूजाको दिन मानव जीवनका हरेक यन्त्र, उपकरण र प्रविधिले कल्याण ल्याओस्, दुर्घटनाबाट सुरक्षा होस् भन्ने विश्वास गरिन्छ। हालै सम्पन्न पितृपक्ष श्राद्धसँग जोडेर आजको दिन पितृहरूले मोक्ष पाओस् र शान्ति छाओस् भन्ने शुभेच्छा पनि व्यक्त गरिन्छ।
प्रतिक्रिया