थुलुङ दुधकोशी गाउँपालिकाले माझी समुदायका २७ विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्दै शिक्षा क्षेत्रमा समावेशीता र समान अवसरलाई प्राथमिकतामा राखेको संकेत दिएको छ ।
गाउँपालिका अध्यक्ष असिम राईले मंगलबार वडा नम्बर ६ का माझी समुदायका विद्यार्थीलाई जनही रु.१० हजारसहित शैक्षिक सामग्री प्रदान गरे । गाउँपालिका प्रवक्ता भोजराज कार्कीका अनुसार छात्रवृत्ति वितरणले शिक्षामा पछाडि परेका समुदायलाई अघि बढाउने लक्ष्य लिएको हो ।

अध्यक्ष राईले सबै समुदायलाई समान अवसर दिने गरी नीति अघि सारिएको उल्लेख गर्दै स्थानीय सरकार हरेक बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन प्रतिबद्ध रहेको बताए ।
यससँगै गाउँपालिकाले शैक्षिक सम्मेलन आयोजना, स्वेतपत्र सार्वजनिक, प्रधानाध्यापकलाई प्रोत्साहन भत्ता, उत्कृष्ट शिक्षक र विद्यार्थीलाई पुरस्कारजस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ । शिक्षा क्षेत्रमा लामो समयदेखि सक्रिय रिड नेपालको वार्षिक प्रतिवेदनअनुसार पालिकाको शैक्षिक गुणस्तर ५.६ प्रतिशतले वृद्धि भएको छ ।

स्थानीयले यो कदमलाई केवल छात्रवृत्ति मात्र नभई थुलुङ दुधकोशी गाउँपालिकाको दीर्घकालीन समावेशी शैक्षिक रणनीतिको आधारका रूपमा व्याख्या गरेका छन् ।

यसैबिच थुलुङ दुधकोशी गाउँपालिकाले हालैको बाढी र पहिरोबाट प्रभावित परिवारलाई क्षतिको आधारमा राहत रकम वितरण गर्ने भएको छ ।
मंगलबार गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले मानवीय क्षति हुने परिवारलाई रु.५० हजार र अन्य भौतिक क्षतिको आधारमा अधिकतम रु.१५ हजार सम्म राहत उपलब्ध गराउने निर्णय गरेको हो ।
गाउँपालिका प्रवक्ता भोजराज कार्कीका अनुसार स्थलगत अध्ययनसहित प्राविधिक टोलीले तयार पारेको प्रतिवेदनको आधारमा क्षतिको मूल्यांकन गरी तीन वर्गमा विभाजन गरेर राहत वितरण गरिनेछ । पूर्ण क्षतिग्रस्तलाई रु.१५ हजार, आंशिक क्षतिग्रस्तलाई रु.१० हजार र सामान्य क्षति भएकालाई रु.५ हजार उपलब्ध गराइनेछ ।
यस वर्षको भीषण वर्षासँगै आएको बाढी–पहिरोले गाउँपालिकाका वडा नं. ६ मुक्ली, वडा नं. १ नेले, वडा नं. ५ जुबु र वडा नं. ७ देउसा क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । वडा नं. ६ स्थित शिकुखोलाले बगाउँदा वडा नं. ८ का मिङमार तामाङको मृत्यु भएको थियो । मृतकको परिवारलाई बैठकले रु.५० हजार राहत उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता कार्कीले जनाएका छन् ।
प्रतिक्रिया