आगामी सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई अघि बढाउन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले समर्थन जनाएका छन्।
बुधबार दिउँसो जेनजी प्रतिनिधिहरूले कार्कीको नाम नयाँ नेतृत्वका लागि प्रधानसेनापति अशोक सिग्देलसमक्ष प्रस्ताव गरेका थिए। सो प्रस्तावमा मेयर बालेनले पनि समर्थन जनाएका हुन्।
यसअघि सामाजिक सञ्जाल डिस्कर्डमार्फत जेनजी युवाबीच कसलाई नेतृत्वमा ल्याउने भन्ने विषयमा दिनभर छलफल भएको थियो। सो क्रममा पनि कार्कीको पक्षमा बलियो मत प्रस्तुत भएको थियो।
तर, काठमाडौंको बाहिर भेला भएका युवाहरूले कार्कीको उम्मेदवारीविरुद्ध नाराबाजी गरेका थिए। कतिपयले मेयर बालेन शाहकै नाम समेत अघि सारेका थिए। तर, उनी सम्पर्कमा नआएको गुनासो पनि जेनजी युवाहरूले गरेका थिए।
मंगलबार बेलुकी मेयर बालेनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै जेनजीलाई सेना प्रमुखसँग वार्ताका लागि तयार रहन सुझाव दिएका थिए। त्यसपछि बुधबार बिहान जेनजी प्रतिनिधि जंगीअड्डा पुगेका थिए।
१५ जनाभन्दा बढीको टोली छलफलमा सहभागी भएपछि सेना प्रमुख सिग्देलले उनीहरूलाई पहिले आपसमा सहमति गरेर संयोजक तोकेर आउन आग्रह गरेका थिए। त्यसपछि जंगीअड्डाकै एउटा कोठामा बैठक बसेर छलफल गरिएको थियो।
उक्त बैठकमा कतिपयले गणतान्त्रिक व्यवस्थाविरुद्ध प्रस्ताव राखेपछि रक्षा बमसहितको समूह बाहिरिएको थियो। तर अन्तिममा नागरिक सरकार गठन गर्ने सहमति बनेको र त्यसको नेतृत्व सुशिला कार्कीले गर्ने निष्कर्ष निकालिएको जेनजी नेताहरूले बताएका छन्।
प्रतिक्रिया