जेनजी आन्दोलन

शिर्ष नेतादेखि मन्त्रीहरुकाे घरमा तोडफोड तथा आगजनी

साझा प्रेस
50
Shares

जेनजी आन्दोलन दाेस्राे दिन अझ उग्र बन्दै गएको छ । यस क्रममा निवर्तमान गृहमन्त्री रमेश लेखकको काठमाडौं, नैकापस्थित घरमा प्रदर्शनकारीले तोडफोड गर्दै आगजनी गरेका छन् ।

लेखकले हिजोमात्रै पदबाट राजीनामा दिएका थिए । अहिले पनि उनको घरबाहिर ठूलो संख्यामा प्रदर्शनकारीहरू जम्मा भएर नाराबाजी गरिरहेका छन् ।

आन्दोलनकारीले अन्य शीर्ष नेताहरूको घरलाई समेत आक्रमणको लक्ष्य बनाएका छन् । सुदरपश्चिमका मुख्य मन्त्रीमुख्यमन्त्री कार्यालयमा प्रवेश गरेर तोडफोड गर्ने क्रममा मुख्यमन्त्री कमलबहादुर शाहको गाडीसमेत क्षति पुगेको छ ।

मंगलबार बिहान नेकपा एमालेका सचिव रघुवीर महासेठको जनकपुरधाम उपमहानगरपालिका–९, भरमपुरीस्थित घरमाथि प्रदर्शनकारीहरूले ढुङ्गामुढा गरेका छन् ।

ठूलो संख्यामा आएका प्रदर्शनकारीहरूले अचानक महासेठको निवास घेराबन्दी गर्दै ढुङ्गामुढा गरेका हुन् । घरको सिसा फुटेको र वरपरको संरचनामा क्षति पुगेको जनाइएको छ । घटनापछि प्रहरी परिचालन गरी स्थिति नियन्त्रणमा लिइएको हो ।

जेनजी आन्दोलन सुरु भएपछि प्रदर्शनकारीहरूले राजनीतिक दलका शीर्ष नेताहरूको निजी निवास र सरकारी कार्यालयलाई मुख्य लक्ष्य बनाइरहेका छन् । यसअघि राजधानी काठमाडौंमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवासमा समेत ढुङ्गामुढा भएको थियो ।

कैलालीको धनगढीस्थित परराष्टमन्त्री डा. आरजु राणा देउवाको घरमा आगजनी भएको छ । प्रदर्शनकारीहरूले परराष्ट्रमन्त्री आरजुको घरमा आगजनी गरेका हुन् ।

कोशी प्रदेशमा बिहानैदेखि आन्दोलन जारी छ । झापाको बिर्तामोडस्थित नेकपा एमालेको कार्यालयमा प्रदर्शनकारीले आगो लगाएका छन् । यसअघि हिजो पनि सो कार्यालयमा तोडफोड गरिएको थियो ।

विराटनगरको देवकोटा चोक र पुष्पलाल चोकमा ठूलो संख्यामा प्रदर्शनकारी भेला भएका छन् । सो क्रममा प्रदर्शनकारीले पुष्पलालको सालिक समेत तोडफोड गरेका छन् ।

इटहरीमा कर्फ्यू जारी रहे पनि प्रदर्शनकारी समूहहरू भेला हुन थालेका छन् । हिजोको आन्दोलनका क्रममा इटहरीमा २ जनाको मृत्यु भएपछि त्यहाँको स्थिति थप तनावग्रस्त बनेको छ ।

आन्दोलन बढ्दै गएपछि सुरक्षा निकाय उच्च सतर्कतामा रहन थालेका छन् ।