जेन-जीको प्रदर्शन भाेली, प्रशासन र सुरक्षा सतर्क

नेतृत्वहीन आन्दोलन ‘चुनौतीपूर्ण’

साझा प्रेस
50
Shares
AI Generated image

राजधानी काठमाडौंमा जेन-जीले सोमबार गर्ने भनिएको शान्तिपूर्ण प्रदर्शनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुरक्षा तयारी कडा पारेको छ।

माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्मको क्षेत्रमा हुने भनिएको प्रदर्शनलाई ‘अनुमति प्राप्त भए पनि अनिश्चित’ भन्दै प्रशासन र सुरक्षासंस्थाले विशेष रणनीति बनाउन थालेका हुन्।

जिल्ला प्रशासन कार्यालयले प्रमुख जिल्ला अधिकारी छवि रिजालको संयोजकत्वमा सुरक्षा समितिको बैठक डाकी सम्भावित चुनौतीको विश्लेषण गरेको छ। रिजालका अनुसार शान्तिपूर्ण प्रदर्शन गर्न अनुमति दिइएको भए पनि तोडफोड वा कानुनविपरीत गतिविधि भए कानुनअनुसार कारबाही गरिने तयारी छ।

नेतृत्व अस्पष्ट, सुरक्षाका लागि नयाँ चुनौती

सुरक्षा विज्ञहरूका अनुसार यो आन्दोलनको सबैभन्दा ठूलो चुनौती नेतृत्वको अभाव हो।
पूर्व एआईजी प्रद्युम्न कार्की भन्छन्, “यो उमेर समूहका व्यक्तिले यसरी घोषणा गरेर आन्दोलन गरेको प्रहरीको अनुभव छैन। नेतृत्व स्पष्ट नभएकाले भीड एक्कासि नियन्त्रणभन्दा बाहिर जाने जोखिम रहन्छ।”

त्यस्तै पूर्व डीआईजी माधव थापा का अनुसार नेतृत्व नभएको आन्दोलनमा भौतिक क्षतिको सम्भावना बढी हुन्छ। उनले प्रशासनलाई विशेष चनाखो हुनुपर्ने सुझाव दिएका छन्।

प्रहरीको तयारी

काठमाडौं प्रहरी परिसरले पर्याप्त जनशक्ति खटाउने तयारी गरेको छ। परिसरसँग ४ हजार १६ दरबन्दी भए पनि अहिले ३ हजार २३३ सक्रिय जनशक्ति छ, जसलाई आवश्यकता अनुसार परिचालन गरिने परिसरका एसपी तथा प्रवक्ता अपिलराज बोहरा बताउँछन्।
“सञ्जालमा बढी अतिरञ्जना भएको छ। बिहानको मुभमेन्ट हेरेर सोहीअनुसार प्रहरी परिचालित हुन्छन्,” उनले भने।

सुरक्षामा काठमाडौं उपत्यका प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल पनि सहभागी हुनेछन्।

जेन-जीले सामाजिक सञ्जालमा सुरु गरेको ‘नेपो बेबी’ ट्रेन्डलाई जोड्दै भ्रष्टाचार, बेथिति, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र राजनीतिक नेतृत्वको विलासी जीवनशैलीविरुद्ध सडकमा उत्रने घोषणा गरेका छन्।
उनीहरूले प्रदर्शन सुरुवातमै प्रहरीलाई फूल दिएर शान्तिपूर्ण तरिकाले सन्देश दिने बताएका छन्।

राजनीतिक प्रतिक्रिया

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली ले पनि यसबारे प्रतिक्रिया दिँदै भनेका छन्, “जेनजी विधि, कानुनबारे स्पष्ट छन् भन्ने मलाई लागेको छ।”
उनको भनाइलाई सुरक्षा अधिकारीहरूले ‘शान्तिपूर्ण रहेमा ठिक, तर तोडफोड भए कारबाही हुन्छ’ भन्ने संकेतका रूपमा व्याख्या गरेका छन्।