नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आज तेस्रो दिनमा प्रवेश गरेको छ। ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी महाधिवेशनको बन्दसत्र बिहान ८ बजेबाट सुरु हुने छ, जसमा प्रस्तुत सातवटा प्रतिवेदनमाथि प्रदेश, जनसङ्गठन तथा विभागीय संरचनाबाट आएका समूहगत सुझाव प्रस्तुत गरिने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
सात प्रतिवेदनमाथि समूहगत छलफल
महाधिवेशनमा प्रस्तुत राजनीतिक, विधान संशोधन, निर्वाचन आयोग, लेखा आयोग, अनुशासन आयोग लगायतका सात प्रतिवेदनमाथि हिजो समूहगत छलफल भएको थियो। आज ती समूहका नेताले छलफलमा उठेका धारणा र सुझाव प्रस्तुत गर्नेछन्।
कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका समूह नेताले प्रतिवेदनमाथि सुझाव प्रस्तुत गर्ने कार्यक्रम छ। त्यसैगरी, उपत्यका विशेष प्रदेश, विभिन्न जनसङ्गठन, सम्पर्क समन्वय समिति, प्रवास इकाइ, केन्द्रीय विभागीय संरचना र निकाय प्रतिनिधिहरूले पनि धारणा राख्नेछन्।
अध्यक्ष ओलीको जवाफ र मतदानको सम्भावना
सुझाव प्रस्तुतिसँगै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले समूहगत छलफलबाट आएका प्रश्न र प्रस्तावमा जवाफ दिनेछन्। गौतमका अनुसार, कुनै बुँदामा सहमति हुन नसकेमा मतदानमार्फत टुंगो लगाई विधान पारित गरिने तयारी गरिएको छ। यसरी महाधिवेशनबाट पारित हुने विधानलाई एमालेको भावी राजनीतिक तथा संगठनात्मक यात्राको मार्गनिर्देशक मानिनेछ।
आजका अन्य कार्यसूची
महाधिवेशनको आजकै सत्रमा समसामयिक प्रस्ताव पारित गरिनेछ। साथै, केन्द्रीय निर्वाचन आयोगकाे निर्वाचन सम्पन्न गर्ने कार्यक्रम पनि रहेको छ। यसका लागि महाधिवेशनमा सहभागी प्रतिनिधिहरूले प्रत्यक्ष सहभागिता जनाउनेछन्।
सहभागिता र नारामा जोड
‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल–सुखी नेपाली हाम्रो गन्तव्य’ मूल नारासहित शुक्रबारदेखि सुरु भएको महाधिवेशनमा देशभरबाट २,०२६ जना प्रतिनिधि सहभागी छन्। आयोजकको हैसियतमा थप ३१५ जना समेत समेट्दा सहभागीको संख्या २,३४१ पुगेको छ।
आजै टुंगिने कार्यतालिका
महाधिवेशन तीन दिन चल्ने गरी तय गरिएको कार्यतालिका अनुसार आजै सकिनेछ। समूहगत छलफल, सुझाव प्रस्तुति, अध्यक्ष ओलीको जवाफ, समसामयिक प्रस्ताव र निर्वाचन सम्पन्न भएपछि अध्यक्ष ओलीकै सम्बोधनसहित महाधिवेशन टुंगिने एमालेले जनाएको छ।
प्रतिक्रिया