सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाले नयाँ पदमार्ग ‘एभरेस्ट–दुधकोशी कल्चरल ट्रेल’ सार्वजनिक गरेको छ । काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा सोमबार आयोजित कार्यक्रममा रक्षा मन्त्री मानवीर राईले वृत्तचित्र, म्याम, आइटेनरी तथा प्रचार सामग्री सार्वजनिक गर्दै पदमार्गको औपचारिक सुरुवात गर्नुभयो ।

५ देखि ९ दिनको अवधिमा सम्पन्न गर्न सकिने यो ट्रेल सिलगुढी डाँडाबाट सुरु भएर राप्छा, बासा, खास्ताप, काँकु, जुभिङ हुँदै वाकुमा पुग्नेछ । यसमार्गमा आकर्षक प्राकृतिक दृश्यावलोकन, जङ्गल पार गर्दै भ्यु पोइन्टमा पुग्ने अवसर मात्र होइन, स्थानीय संस्कृति, परम्परा र गाउँजीवन नजिकबाट बुझ्न सकिने अध्यक्ष बुद्धिकिरण राईले बताए ।
नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) को सहकार्यमा जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पदमार्ग निर्माण गरिएको हो ।

कार्यक्रममा मन्त्री राईले नयाँ पदमार्गले सोलुखुम्बुका गाउँबस्ती र स्थानीय पर्यटन व्यवसायलाई प्रत्यक्ष फाइदा पुग्ने भन्दै दिगो पर्यटनलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरे । टान महासचिव सोनाम ग्याल्जेन शेर्पाले स्वागत मन्तव्य राखेका थिए भने पर्यटन बोर्डका सीईओ दीपक राज जोशी, टान अध्यक्ष सागर पाण्डे, वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पा, पूर्व अध्यक्ष खुम सुवेदीलगायत पर्यटन व्यवसायीहरूको उपस्थिति थियो ।

यस पदमार्गले हिमालको छायाँमा संस्कृति र प्रकृतिको मिश्रण खोज्ने आन्तरिक तथा बाह्य पर्यटकलाई नयाँ अनुभव दिने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया