प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको पहिलो दिनमै लिपुलेकसम्बन्धी भारत–चीन सहमतिप्रति आपत्ति जनाउँदै नेपालको भू–सार्वभौमसत्ताको विषयलाई अन्तर्राष्ट्रिय स्तरमा स्पष्ट सन्देश दिएका छन् ।
शनिबार दिउँसो राष्ट्रपति सी चिनफिङसँग भएको भेटवार्तामा ओलीले लिपुलेक नेपालको अविभाज्य अंग भएको भन्दै नेपालको संवेदनशीलताप्रति चीनले पनि ध्यान दिनुपर्ने आग्रह गरेका हुन् ।
परराष्ट्र मन्त्रालयका सचिव अमृत राईका अनुसार, ओलीले १८१६ को सुगौली सन्धि नै प्रमाण भएको भन्दै महाकालीपछिका सम्पूर्ण भू–भाग नेपालकै भएको स्पष्ट रूपमा स्मरण गराएका थिए ।
ओलीको भनाइलाई उद्धृत गर्दै राईले भने, ‘यस मामिलामा चीनले नेपाललाई सहयोग गर्नेछ भन्ने हाम्रो विश्वास छ ।’ भेटवार्तामा दुई मुलुकबीच आपसी मित्रता, आर्थिक सहकार्य र क्षेत्रीय स्थायित्वमा संयुक्त पहल गर्ने सहमति पनि भएको छ ।
प्रधानमन्त्री ओली शनिबारै शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा भाग लिन २३ सदस्यीय प्रतिनिधिमण्डलसहित चीन पुगेका हुन् । विश्लेषकहरूका अनुसार, यस पटकको भ्रमण केवल औपचारिक कार्यक्रम मात्र नभई नेपालको भू–राजनीतिक सन्तुलन कायम गर्ने महत्वपूर्ण प्रयासका रूपमा रहन सक्नेछ ।
प्रतिक्रिया