नेपाल प्रहरीको ३२ औँ आईजीपीमा चन्द्रकुबेर खापुङ नियुक्त

प्रहरी संगठनमा बेदाग र निष्कलंक

साझा प्रेस
100
Shares


नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रकुबेर खापुङ ३२ औँ प्रहरी महानिरीक्षक (आईजीपी) बनेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणअघि बसेको मन्त्रिपरिषद् बैठकले आगामी १९ भदौदेखि लागू हुने गरी खापुङलाई प्रहरी संगठनको सर्वोच्च पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

दौडधुपबिनै आईजीपी

आईजीपी बन्ने संभावित अधिकारीहरूले वर्षौँअघिदेखि नै शक्तिकेन्द्रमा सक्रियता देखाउने परम्परा छ। तर, सीआईबी प्रमुख रहेका खापुङ भने निर्णय हुने हप्तासम्म पनि शक्तिकेन्द्रमा होइन, स्टुडियोमा गीत रेकर्डिङमा व्यस्त थिए। उनी गीत–संगीतप्रेमी अधिकारीका रूपमा पनि परिचित छन्।

दीपक थापाको छोटो कार्यकाल

हालका प्रहरी महानिरीक्षक दीपक थापा १८ भदौमा अनिवार्य अवकाश हुँदैछन्। २०५२ सालमा सेवा प्रवेश गरेका थापा साढे पाँच महिनामै सेवा अवधिका कारण विदा हुन लागेका हुन्। उनीभन्दा अघि त्यही ब्याचका वसन्तबहादुर कुँवर पनि आईजीपी भइसकेका थिए।

खापुङको करियर यात्रा

  • २०५१ सालमा प्रहरी निरीक्षकको विज्ञापनमा प्रतिस्पर्धा
  • २०५२ कात्तिक २७ गते प्रहरी सेवामा प्रवेश
  • पूर्वमा बेलबारीदेखि काठमाडौंको दरबारमार्गसम्म नेतृत्व
  • काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय (एसएसपी)
  • कोशी प्रदेश कमान्ड (डीआईजी)
  • हालैसम्म केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख

उनलाई प्रहरी संगठनमा बेदाग र निष्कलंक अधिकारी को रूपमा चिनिन्छ। अहिलेसम्म कुनै विवादमा नपरेका खापुङ इमान्दार छवि भएका प्रहरी प्रमुख हुन्।

छोटो नेतृत्व

३० वर्षे सेवा अवधिका कारण खापुङले इतिहासमै दोस्रो सबैभन्दा छोटो समयका लागि आईजीपी नेतृत्व गर्ने सम्भावना छ। उनी आगामी २६ कात्तिकमा अनिवार्य अवकाश हुनेछन्। यसअघि २०१२ सालमा तोरण शमशेर जबरा तीन दिन मात्र आईजीपी बनेका थिए।

अबको प्रतिस्पर्धा

खापुङपछि आईजीपी बन्ने दौडमा एआईजी सिद्धिविक्रम शाह, दानबहादुर कार्की र राजन अधिकारी छन्।