नेपाल शाकाहारी संघले आयोजना गर्ने ‘अहिंसा महोत्सव नेपाल’ (अहिंसा फेस्टिभल नेपाल) को सम्पूर्ण तयारी पूरा भएको छ ।
महोत्सव काठमाडौँको नेपाल प्रहरी क्लब, प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आगामी भदौ १२ गते बिहीवारदेखि १४ गते शनिबारसम्म तीन दिनसम्म सञ्चालन हुने भएको हो ।
‘करुणाले जोड्छ’ भन्ने मुल नारासहित आयोजना हुने यस महोत्सवमा सबैका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ । पशुपक्षीमाथि प्रेम, मानव स्वास्थ्यको ख्याल र पृथ्वी तथा वातावरणको हितका लागि ‘पूर्ण शाकाहारी जीवनशैली’ प्रवद्र्धन यस महोत्सवको मुख्य उद्देश्य रहेको बताइएको छ ।
नेपाल शाकाहारी संघका अध्यक्ष कृष्ण गुरुङका अनुसार महोत्सवमा दिगो जीवन पद्धति, शाकाहारी जीवनशैली र पशु अधिकारसम्बन्धी अन्तरक्रिया प्रमुख आकर्षण रहनेछन् । त्यस्तै, भरतनाट्यम नृत्यलगायत साङ्गीतिक प्रस्तुति, योग सत्र, देश–विदेशका अभियन्तासँग प्रत्यक्ष भेटघाट र अनुभव आदानप्रदान, शाकाहारी परिकार तथा पकाउने विधिको प्रदर्शन र विशेष रात्रिभोज समेत कार्यक्रमका अन्य विशेषता हुनेछन् ।
महोत्सवमा पूर्ण शाकाहारी (भिगन) खानाहरूको स्टल रहनेछ भने केही स्टलमा निःशुल्क भिगन खाना चाख्ने अवसर पनि उपलब्ध हुनेछ । आयोजकले महोत्सवमा ५० हजारभन्दा बढी दर्शकको उपस्थिति रहने अनुमान गरेको छ ।
यस महोत्सवमा ६० भन्दा बढी शाकाहारी उत्पादनका कक्ष, ४० भन्दा बढी वक्ता र २० भन्दा बढी सहभागी संस्था रहनेछन् । अन्तर्राष्ट्रिय वक्ताहरूको समेत सहभागिता रहनेछ । नेपाल शाकाहारी संघले यसअघि सन् २०७४ मा काठमाडौँमै ८औँ एसिया–प्यासिफिक भेजिटेरियन कांग्रेस (APVC) सफलतापूर्वक सम्पन्न गरेको थियो, जसमा ३५ भन्दा बढी अन्तर्राष्ट्रिय प्रतिनिधि सहभागी भएका थिए ।
संघ विगत दुई दशकदेखि नेपालभित्र शाकाहार र अहिंसा प्रवद्र्धनका गतिविधिमा सक्रिय रहँदै आएको छ । यसपटकको अहिंसा महोत्सवको सह–आयोजकमा काठमाडौँ एनिमल सेभ मुभमेन्ट, समस्त महाजन, श्रीकृष्ण प्रणामी समाज र वल्र्ड भिजन अर्गनाइजेसन रहेका छन् भने कार्यक्रम प्रायोजकमा वल्र्ड भिगन भिजन र म्याजिक मार्बल फाउन्डेसन रहेका छन् ।

प्रतिक्रिया