प्रचण्ड विप्लव निवास पुगे, पार्टी एकता र समाजवादी मोर्चाबारे छलफल


नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को निवास ललितपुरको हरिसिद्धि पुगेका छन्।

उनी विप्लवसँग पछिल्ला राजनीतिक घटनाक्रम, समाजवादी मोर्चा निर्माण र पार्टी एकता सम्भावनाबारे छलफलमा जुटेका छन्।प्रचण्डको सचिवालयका अनुसार भेटवार्तामा मुख्यतया माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपाबीच एकताको एजेण्डा केन्द्रित रहेको छ।

हालै सम्पन्न माओवादी केन्द्रको स्थायी कमिटी बैठकले विप्लव समूहसँग पार्टी एकता गर्ने निर्णय गरेको थियो। तर, सो निर्णय वार्ता र छलफलविनै लिइएको भन्दै विप्लव पक्षका केही नेताले असन्तुष्टि जनाएका थिए।

यस्तै असन्तुष्टिलाई सम्बोधन गर्दै र एकता प्रक्रिया अघि बढाउने उद्देश्यले प्रचण्ड विप्लवकै निवास पुगेको बताइएको छ।