नेपालसँग हवाई सम्पर्क विस्तार गर्दै पर्यटन प्रवर्द्धनमा सहकार्य गर्न भियतनाम सकारात्मक देखिएको छ । नेपालका उपराष्ट्रपति रामसहायप्रसाद यादव र भियतनामकी उपराष्ट्रपति भो थी आन्ह सुआनबीच आइतबार काठमाडौंमा भएको प्रतिनिधिमण्डलस्तरीय वार्तामा भियतनामी पक्षले यस्तो संकेत गरेको हो ।
होटल याक एण्ड यतिमा सम्पन्न द्विपक्षीय भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका सहसचिव एवम् दक्षिणपूर्वी एशिया–प्रशान्त महाशाखाका प्रमुख प्रकाश अधिकारीले व्यापार, लगानी, जलविद्युत, पर्यटन, डिजिटल रूपान्तरण तथा सांस्कृतिक सहकार्यलगायत विषयमा गहन छलफल भएको जानकारी दिए ।
उनका अनुसार, “सांस्कृतिक र धार्मिक समानता, विशेषगरी बुद्ध धर्म, नेपाल–भियतनाम सम्बन्धको सेतु भएकाले धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने विषयमा दुवै पक्ष सहमत देखिएका छन् । निकट भविष्यमा एयर कनेक्टिभिटी बढाउन पनि आपसी छलफल गर्ने सहमति भएको छ ।”
नेपालका लागि यो भ्रमण भियतनामबाट भएको पहिलो उच्चस्तरीय आगमन हो । उपराष्ट्रपति यादवको निमन्त्रणामा सुआन शनिबार काठमाडौं आइपुगेकी थिइन् । आगमनलगत्तै उनले परराष्ट्र मन्त्री आरजु राणा देउवासँग भेटवार्ता गरेकी थिइन् । सो अवसरमा मन्त्री राणाले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भियतनामबाट सिधा हवाई उडान सुरु गर्न प्रस्ताव गरेकी थिइन् ।
भेटवार्तामा दुवै पक्षले मित्रता, सद्भावना र द्विपक्षीय सम्बन्धलाई थप बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उच्च तहमा भ्रमण आदानप्रदान र विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्न सकिने सहमति पनि भएको अधिकारीले बताए ।
भियतनामकी उपराष्ट्रपति सुआनले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग र भोलि राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उनी सोमबार स्वदेश फर्किने छन् ।
प्रतिक्रिया