रौतहटको गौर नगरपालिकामा सडक किनारमा सुटकेशभित्र कोचेर राखिएको एक महिलाको शव फेला परेको छ।
गौर नगरपालिका–९ मुडवलवा गेट नजिकै शनिबार राति डोरीले बाँधिएको अवस्थामा सुटकेश देखिएको थियो। जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी राजन कार्की नेतृत्वको टोलीले आइतबार बिहान सुटकेश खोल्दा अन्दाजी ३० वर्षीया महिलाको शव भेटिएको प्रहरीले जनाएको छ।
डिएसपी कार्कीका अनुसार महिलाको शव कोचेर राखिएको अवस्थामा भेटिएको हो र मृतकको पहिचान अहिलेसम्म खुलेको छैन। मुचुल्का तयार गरी शवलाई प्रादेशिक अस्पताल गौरमा पठाइएको छ।
सीसीटीभी जाँचमार्फत अनुसन्धान
घटनास्थल नजिकै रहेको एक विद्यालयमा जडान गरिएको सीसीटीभी फुटेज प्रहरीले संकलन गरी अनुसन्धान थालेको डिएसपी कार्कीले जानकारी दिए। “घटनाको प्रकृति निकै संदेहास्पद छ, विस्तृत अनुसन्धान जारी छ,” कार्कीले भने।
एक सातामै तेस्रो शव फेला
यस साता मात्र रौतहटमा लगातार तीन वटा शव फेला परिसकेका छन्। यसअघि नेपाल लजभित्र सप्तरीका उपेन्द्र भगत मृत अवस्थामा भेटिएका थिए भने गौर–५ मा छुरा प्रहारबाट सहाबुदिन मियाको हत्या भएको थियो। त्यसमाथि आज अज्ञात महिलाको शव सुटकेशभित्र फेला परेको घटनाले जिल्लामा त्रास बढाएको छ।
प्रहरीले घटनाहरूबीच कुनै सम्बन्ध छ वा छैन भन्ने विषयमा पनि अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया