मोतीराम भट्ट जन्मजयन्ती विराटनगरमा भव्य रूपमा मनाइयो

साझा प्रेस
200
Shares

मोतीराम भट्टको १५८ औँ जन्मजयन्तीको अवसरमा छन्द वाटिका नेपाल विराटनगरले शनिबार विराटनगरमा एक विशेष साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ । कवि भट्टको व्यक्तित्व, कृतित्व र योगदानलाई उजागर गर्दै उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्ने उद्देश्यका साथ गरिएको कार्यक्रममा साहित्यकार, कवि तथा समीक्षकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा विशेष वक्ता प्राज्ञ केशु विरही, खेम नेपाली र प्राध्यापक कविराज न्यौपानेले मोतीराम भट्टको जीवन, साहित्यिक यात्रा र नेपाली कवितामा पुर्‍याएको योगदानबारे विस्तृत व्याख्या गरेका थिए । वक्ताहरूले मोतीरामलाई आधुनिक नेपाली कविताका आधारशिला स्थापनाकर्ता र कवि भानुभक्तका जीवनीकारका रूपमा स्मरण गर्दै उहाँको सिर्जनशील योगदान नेपाली साहित्यमा अमर रहेको बताएका थिए ।

परिचर्चा सत्रपछि रचना वाचन कार्यक्रम पनि गरिएको थियो । कार्यक्रममा उमनाथ भट्टराई, गोपाल निर्भीक, लक्ष्मी घिमिरे, शुभलक्ष्मी लम्साल, चुडामणि अकिञ्चन, डोमी कामत, नवराज नवशीला, राधा भट्टराई, पुण्य चौलागाई, किरण अन्जान, जीवन काश्यप, बाबुराम पोखरेल, प्रिन्स प्रमोद, रमेश निरौला, सिजन श्रेष्ठ, सुसिला प्रसाई, गोविन्द ढुङ्गाना, शैलेन्द्र घिमिरे, मन्जु घिमिरे दाहाल, कञ्चन भट्टराई, भक्ति दाहाललगायत करिब तीन दर्जन स्रष्टाहरूले मोतीरामप्रति समर्पित कविता, गजल र मुक्तक वाचन गरेका थिए । कार्यक्रम संचालन संस्थाका सचिव चिरञ्जीवि काफ्लेले गरेका थिए ।

मोरङ र सुनसरी जिल्लाका साहित्यकारहरूको बाक्लो सहभागिता रहेको उक्त कार्यक्रम छन्द वाटिका नेपालका अध्यक्ष हरि कट्टेलको सभापतित्वमा सम्पन्न भएको थियो भने प्राध्यापक कविराज न्यौपाने प्रमुख अतिथि रहेका थिए ।

बि.सं. २०७२ सालमा कवि हरि कट्टेलको संयोजनमा स्थापित छन्द वाटिका नेपाल विराटनगरले निरन्तर अग्रज स्रष्टाहरूको सम्मान, स्मरण तथा रचना वाचनका कार्यक्रम गर्दै आएको छ । साथै, यस संस्थाले विशेष अवसर पारेर कृति प्रकाशन समेत गर्दै आएको छ, जसले विराटनगरलाई सक्रिय साहित्यिक केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुर्‍याइरहेको छ ।