चर्चित गीत ‘काफ्ले’ बाट सबैको मन जितेकी गायिका झुमा लिम्बू अब पहिलोपटक आफ्नै ब्यान्डसहित सांगीतिक यात्रामा निस्किँदैछिन्।
बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनले ‘रैथाने घुमफिर २०८२ नेपाल टुर’ को घोषणा गरिन्।
टुर आगामी भदौ २१ गते काठमाडौंको ठमेलस्थित एलओडी क्लबबाट सुरु हुनेछ। लिम्बूले आफ्ना चर्चित गीत मात्र नभई, देशभरका लोकसंगीत र सांस्कृतिक प्रस्तुतिलाई कन्सर्टमा समेट्ने योजना सार्वजनिक गरिन्। उनका अनुसार, काठमाडौंसहित १० वटा सहरमा कार्यक्रम हुनेछ।
“लोकसंगीत केवल मनोरञ्जन होइन, यो हाम्रो जीवनशैली, इतिहास र सामुदायिक आत्माको प्रतिबिम्ब हो। नयाँ पुस्तासम्म पुर्याउने हाम्रो जिम्मेवारी हो,” झुमाले कार्यक्रममा भनिन्।
सांगीतिक यात्रामा संस्कृति
‘रैथाने घुमफिर’ को प्रत्येक प्रस्तुतिमा हाक्पारे, पालाम, घाँटु, सोरठी, देउडा, च्याब्रुङ, मारुनी जस्ता परम्परागत संगीत र नृत्यलाई प्रमुख स्थान दिइनेछ। यसले गाउँ र सहरबीचको सांस्कृतिक पुल बन्ने उनको विश्वास छ।
‘जारी २’सँग सहकार्य
टुरमा आउँदो असोज ३ गते प्रदर्शनमा आउन लागेको फिल्म ‘जारी २’ पनि जोडिएको छ। सहकार्यअन्तर्गत एलओडीमा हुने पहिलो कार्यक्रममा ‘जारी २’ टिमले च्याब्रुङ बजाएर नाच प्रस्तुत गर्ने बताइएको छ। यसलाई मौलिकता प्रवर्द्धनतर्फको साझा अभियानको रूपमा हेरिएको छ।
भविष्यमा अन्तर्राष्ट्रिय मंचमा
यो वर्ष ‘रैथाने घुमफिर’ नेपालमै सीमित रहनेछ। तर, लिम्बूले अर्को वर्षदेखि विदेशमा समेत टुर गर्ने योजना बनाएकी छन्। उनले प्रत्येक कार्यक्रमलाई स्थानीय कलाकार र संस्कृतिलाई प्राथमिकतामा राख्दै सांगीतिक विविधता प्रदर्शन गर्ने घोषणा गरेकी छन्।
नेपालमा विदेशी पप र पाश्चात्य धुनको प्रभाव बढिरहेको बेला, झुमा लिम्बूको यो टुर मौलिकता जोगाउने सांगीतिक अभियानका रूपमा आएको छ।
प्रतिक्रिया