सोलुखुम्बुमा एमालेको आठौँ विस्तारित बैठक सम्पन्न, पार्टी बलियो रहेको नेताहरूको दाबी

साझा प्रेस
11.1k
Shares

नेकपा एमाले सोलुखुम्बु जिल्ला कमिटीको आठौँ विस्तारित बैठक आज (बिहीबार) भर्चुअल माध्यमबाट सम्पन्न भएको छ ।

बैठकमा सहभागी नेताहरूले पार्टी बलियो रहेको र बाहिरी शक्तिले प्रभाव पार्न नसकेको दाबी गरेका छन् । जिल्ला अध्यक्ष डुफ कुमार बास्तोलाको अध्यक्षता रहेको बैठकमा प्रमुख अतिथि एमाले केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज किशोर अधिकारी र विशेष अतिथि रक्षा मन्त्री मानवीर राई उपस्थित थिए । बैठकमा विधान संशोधन प्रस्ताव प्रस्तुत गरी त्यसबारे सुझाव सङ्कलन गरिएको छ ।

प्रचार तथा प्रकाशन विभाग प्रमुख नुतन श्रेष्ठले “बैठकले अन्तरपार्टी निर्देशन १२ मा समेत विस्तृत छलफल गरेको र प्राप्त सुझावहरू लिखित रूपमा केन्द्रमा पठाइने निर्णय गरेको” जानकारी दिए । सचिव कल्पना राईले “प्राप्त सबै सुझावहरू समयमै संकलन गरी पार्टी केन्द्रमा पेस गर्ने निर्णय गरिएको” जानकारी दिइन् ।

जिल्ला इन्चार्ज किशोर अधिकारीले बैठकलाई सम्बोधन गर्दै “सरकार हेरफेर हुने कुरा हल्ला मात्र हो, त्यसैले कार्यकर्ताले दुबिधामा नपर्न” आग्रह गरेका छन् । उनले तोकिएको समयमै सुझाव संकलन गरी पठाउन निर्देशन समेत दिएका छन् ।

विशेष अतिथि एमाले केन्द्रिय सदस्य एवं रक्षा मन्त्री मानवीर राईले “देशी–विदेशी शक्तिले अध्यक्ष केपी शर्मा ओली र एमालेलाई कमजोर बनाउन खोजे पनि नेतृत्व बलियो भएकै कारण कुनै हलचल ल्याउन सकेका छैनन्” भन्दै पार्टीभित्र आत्मविश्वास कायम रहेको स्पष्ट पारे । उनले पूर्व राष्ट्रपति पार्टी गतिविधिमा सक्रिय हुनेबारे आएको समाचारबारे प्रतिक्रिया दिँदै “राष्ट्रपति पद देशको सर्वोच्च सम्मानित ओहदा भएकाले त्यस्तो पदमा रहेकाले सम्मानित भूमिकामै रहनुपर्छ” भन्ने धारणा राखे ।

जिल्ला अध्यक्ष डुफ कुमार बास्तोलाले भने “एमालेभित्र कुनै समस्या छैन, केन्द्रदेखि वडा तहसम्म पार्टीलाई अझ सक्रिय र मजबुत बनाउन सबै एकजुट भएर लाग्नुपर्छ ।”

बैठकमा केन्द्र, प्रदेश, जिल्ला, पालिका र वडा तहका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो । सहभागीहरूले बैठकलाई निकै प्रभावकारी भएको भन्दै विधान संशोधन प्रस्तावमा आ–आफ्ना सुझावहरू पेश गरेका थिए ।