इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानेजमाथि “इजरायललाई धोका दिएको” र अस्ट्रेलियाली यहूदी समुदायलाई “त्यागेको” आरोप लगाएका छन्।
उनले अल्बानेजलाई “कमजोर राजनीतिज्ञ” भनेर सम्बोधन गर्दै इतिहासले उनलाई त्यस्तै नामले सम्झिने दाबी गरे।
तनाव बढ्नुको कारण अस्ट्रेलियाले नेतन्याहूको सत्तारुढ गठबन्धनका दक्षिणपन्थी नेता सिम्चा रोथमानलाई प्रवेश अनुमति (भिसा) दिन अस्वीकार गर्नु हो। त्यसको जवाफस्वरूप इजरायलले अस्ट्रेलियाली प्रतिनिधिहरूको फिलिस्तिनी प्राधिकरणका लागि जारी भिसा खारेज गर्यो।
अस्ट्रेलियाका आव्रजन मन्त्री टोनी बर्कले भने नेतन्याहूको आरोपलाई अस्वीकार गर्दै, अस्ट्रेलियाले हालसालै बेलायत, फ्रान्स र क्यानडासँगै फिलिस्तीनलाई मान्यता दिने घोषणा गरेपछि नेतन्याहू “आक्रोश पोखिरहेका” बताएका छन्।
“बल भन्ने कुरा कति मानिसलाई बमले उडाउन सकिन्छ वा कति मानिसलाई भोकै राख्न सकिन्छ भन्ने होइन,” उनले अस्ट्रेलियन ब्रडकास्टिङ कर्पोरेसनसँग भने।
इजरायलका विपक्षी नेता याइर लापिडले समेत नेतन्याहूको अभिव्यक्तिलाई आलोचना गर्दै, यो अभिव्यक्ति अल्बानेजका लागि “उपहार” भएको टिप्पणी गरे। उनले सामाजिक सञ्जाल ‘एक्स’ मा लेखे, “आजको लोकतान्त्रिक विश्वमा नेतन्याहूसँगको टकरावले मात्र कुनै पनि नेतालाई अझ बलियो बनाउँछ। नेतन्याहू पश्चिमी विश्वका सबैभन्दा विषाक्त नेतामध्ये एक हुन्।”
यसअघि अस्ट्रेलियाले दक्षिणपन्थी नेतृ तथा पूर्व न्याय मन्त्री आयेलेट शाकेडलाई पनि भिसा अस्वीकार गरेको थियो। इस्रायली विदेश मन्त्री गिडोन सारले रोथमानको भिसा खारेजीपछि अस्ट्रेलियाको कुनै पनि आधिकारिक भिसा आवेदनलाई कडाइका साथ जाँच गर्न क्यानबेरास्थित इस्रायली दूतावासलाई निर्देशन दिएका थिए। उनले अस्ट्रेलियामा यहूदीहरूमाथि आक्रमण बढिरहेको दाबी गर्दै, त्यस्तो अवस्थामा अस्ट्रेलियाली सरकारले “स्थिति झनै चर्काएको” आरोप लगाए।
यता, अस्ट्रेलियाली यहूदी संघ (AJA) ले रोथमानलाई भर्चुअल रूपमा कार्यक्रममा सहभागी गराउने जनाएको छ।
अस्ट्रेलियाले भदौ सुरुतिरै फिलिस्तीनलाई मान्यता दिने घोषणा गरेको थियो। प्रधानमन्त्री अल्बानेजले नेतन्याहूलाई निर्दोष नागरिकमाथि युद्धका परिणामलाई बेवास्ता गरेको आरोप लगाएका थिए। “सहायताको रोकावट र त्यसकै कारण भोजन र पानीको लागि लाममा उभिँदा आमनागरिकले ज्यान गुमाउनु अस्वीकार्य छ,” उनले भनेका थिए।
फिलिस्तीनलाई हाल संयुक्त राष्ट्रसंघका १९३ सदस्य देशमध्ये १४७ ले मान्यता दिएका छन्।
यसबीच नेतन्याहूले बेलायतका प्रधानमन्त्री कीर स्टार्मर, फ्रान्सका राष्ट्रपति इम्यानुएल माक्रों र क्यानडाका मार्क कार्नीलाई समेत कठोर रूपमा आलोचना गर्दै “हत्या, अपहरण र बलात्कार गर्नेहरूको पक्षपाती” भएको आरोप लगाएका छन्।
गत ७ अक्टोबरमा हमासको आक्रमणपछि इजरायलले सुरु गरेको सैन्य अभियानमा हालसम्म ६२ हजारभन्दा बढी मानिस मारिएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ। उक्त आक्रमणमा करिब १,२०० इजरायली मारिएका थिए भने २५१ जना बन्धक बनाइएका थिए।
प्रतिक्रिया