विष्णु पौडेलले पहिचान गरेका अस्थिरता चाहने तीनथरी शक्ति

साझा प्रेस
100
Shares

उपप्रधान तथा अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले राजनीतिलाई अस्थिरतातर्फ लैजान खोज्ने तीनथरी शक्तिको भविष्य नेपालमा नभएको बताएका छन् ।

प्रतिगामी शक्ति, खहरेको रुपमा आएको रास्वपा, सरकार ढाल्ने र बनाउने खेलमा लाग्ने माओवादीको राजनीतिक भविष्य नभएको उनको भनाइ छ । नेपाल पत्रकार महासंघ पाल्पाले आज तानसेनमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै पौडेलले प्रतिगामीहरुले केही समय पहिले राजनीतिक अस्थिरता मच्चाउन सकिन्छ कि भनेर प्रयास गरेको तर त्यसलाई जनताले बिफल पारेको बताए ।

‘प्रतिगामी शक्तिको रुपमा आएका कथित राजावादीको प्रयासलाई जनताले तिरस्कार गरिसके । उनीहरु अहिले छिन्नभिन्न अवस्थामा छन्’ पौडेलले भने ‘राजावादी कित्तामा लागेर ब्यर्थमा जीन्दगीको समय नगुजार्न म आग्रह गर्दछु ।’ प्रतिगामीहरुले गणतन्त्रवादीसँग जोरी खोज्नु भनेको ‘कुइनोले पहरो ठेले जस्तो’ मात्र भएको उनको भनाइ छ ।

उपप्रधानमन्त्री पौडेलले भविष्य नभएको दोस्रो शक्तिको रुपमा रास्वपालाई लक्षित गरे । उनले रास्वपाको नाम नलिइ उसलाई खहरेको संज्ञा दिए । ‘यसपाली मनसुन अलि ढिला सुरु भयो । त्यही भएर अहिले खहरे खोलाहरु बढेका छन् । तर मनसुन सकिएपछि ति खहरेमा कमिला कुद्छन्’ पौडेलले भने ‘राजनीतिमा पनि खहरे देखिएका छन् । तिनीहरुको आयु लामो छैन ।’

उपप्रधानमन्त्री पौडेलले विरोधको राजनीति गरेर ,जनतामा भ्रम सृजना गरेर यस्ता खहरेहरुले जनतालाई अलमलमा पार्न खोजेको तर जनताले उनीहरुको नियत थाहा पाएको बताए ।

उनले यो सरकार २०८४ सम्म निरन्तर हुने भएकोले कसैलाई पनि भ्रममा नपर्न आग्रह गरेका छन् । सरकार ढाल्छु भनेर केही समय अघि ठूलो स्वर गर्नेहरुको स्वर अहिले मुर्झाएको उनको भनाइ छ ।

‘देशमा अस्थिरता चाहने अर्को एउटा शक्ति छ । त्यो सधैं सरकार ढाल्छु भन्छ । सरकारलाई नै निशाना बनाउछ ’ पौडेलले भने ‘सरकार ढाल्ने प्रयास सफल नभएपछि अहिले सरकार हाम्रो प्राथमिकता होइन भन्छ । त्यसैले यो शक्तिको भ्रमबाट जनताले मुक्त हुनु पर्दछ ।’