बौद्धनाथमा पहिलो पटक संयुक्त धार्मिक विधिसहित ऐतिहासिक महाङ्काल जात्रा सम्पन्न

साझा प्रेस
300
Shares

बौद्धनाथ क्षेत्र विकास समितिले धार्मिक सहिष्णुता मजबुत बनाउन लामा, बज्राचार्य र ब्राह्मण गुरूहरूबाट संयुक्त रूपमा महाङ्कालको पूजाअर्चना गरी ऐतिहासिक बौद्ध महाङ्काल जात्रा सम्पन्न गरेको छ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र रक्षामन्त्री मानवीर राईले पूजापद्धतिको अवलोकन गर्दै प्रसाद ग्रहण गरेका थिए । उनीहरूले हिन्दू र बौद्ध धर्मावलम्बीबीचको आपसी सहिष्णुतालाई उदाहरणीय बनाउन समितिले गरेको प्रयासको प्रशंसा गरे। दुवै धर्मको आस्था एकै मंचमा हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूले आ–आफ्नो धार्मिक विधिअनुसार महाङ्कालको पूजाअर्चना गर्ने परम्परा रहिआएको छ ।

मंगलबार बौद्ध महाङ्काल चौर प्राङ्गणमा लामा, बज्राचार्य र ब्राह्मण गुरूहरूले यज्ञ मण्डप स्थापना गरी आ–आफ्नो परम्परागत पूजाविधिअनुसार महाङ्कालको साधना पूजा सम्पन्न गरे। दृश्य अत्यन्त मनमोहक बनाएको उक्त समारोहमा हजारौं भक्तजनहरूको बाक्लो उपस्थिति थियो।समितिका कार्यकारी निर्देशक मोहनकुमार लामाले हिन्दू र बौद्ध दुवै समुदायमा महाङ्कालप्रति गहिरो आस्था रहेकाले यसले धार्मिक सहिष्णुता बलियो बनाउने विश्वास व्यक्त गरे।

ऐतिहासिक जात्रा र सांस्कृतिक झाँकीपूजा सम्पन्न भएपछि महाङ्काल जात्रा सुरु गरिएको थियो। बाजागाजा र विभिन्न सांस्कृतिक झाँकीसहित महाङ्कालको प्रतिमालाई खटमा राखी रामहिटी, तीनचुली, भुवलडाँडा, बौद्ध, पिपलबोट, टुसाल, चुच्चेपाटी हुँदै पुनः महाकाल स्थानमा फर्काइएको थियो।

यो जात्रा बौद्धमा पहिलो पटक विभिन्न धार्मिक र सांस्कृतिक कार्यक्रमसहित मनाइएको हो । सनातन हिन्दू धर्मका पुरोहित, बौद्ध धर्मका लामा तथा बज्राचार्य गुरुहरूको संयुक्त साधना पूजाले यसलाई विशेष बनाएको थियो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र बौद्धनाथ क्षेत्र विकास समितिको संयोजनमा, विभिन्न संघ–संस्थाको सहकार्यमा महाङ्काल जात्रा–२०८२ सम्पन्न गरिएको समितिका अध्यक्ष राजकुमार लामाले जानकारी दिए। जात्राको व्यवस्थापनका लागि महाङ्काल जात्रा मूल समारोह समिति गठन गरिएको थियो।