माप्य दुधकोशीको प्रशासनिक शिविरबाट १२ सय बढीले लिए सेवा

साझा प्रेस
100
Shares

सोलुखुम्म्को माप्य दुधकोशी गाउँपालिकाले काठमाडौँमा सञ्चालन गरेको दुई दिने एकीकृत प्रशासनिक सेवा प्रवाह शिविरबाट १,२२६ जना पालिकाबासी लाभान्वित भएका छन्।

नवदुर्गा पार्टी प्यालेस, सुकेधारामा सम्पन्न शिविरमार्फत ४८ जनाले विवाह दर्ता, ५६ जनाले जन्म दर्ता, ३८ जनाले मृत्यु दर्ता, १३ जनाले बसाइँसराइ र ६ जनाले सम्बन्ध विच्छेद सेवा लिएका छन् । यस्तै, २४२ जनाले सामाजिक सुरक्षा भत्ता नवीकरण, ३११ जनाले राष्ट्रिय परिचयपत्र, १०८ जनाले भूमिकर सेवा र ४०४ जनाले विभिन्न सिफारिस सुविधा प्राप्त गरेका छन् ।

शिविरबाट ३ लाख ५ हजार ८३० रुपैयाँ राजस्व संकलन भएको पालिका प्रवक्ता तथा वडा नं ३ का अध्यक्ष अमित राईले जानकारी दिए।पालिका अध्यक्ष बुद्धिकिरण राईका अनुसार, बर्खाको समयमा गाउँ पुग्नुपर्ने जोखिम, समय र खर्च बचत गर्न शिविर काठमाडौँमा आयोजना गरिएको हो । “विशेष गरी अपांगता, असक्त र जेष्ठ नागरिकका लागि यो पहल निकै उपयोगी भयो,” उनले भने।

पालिका उपाध्यक्ष गौरब राईले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि मात्र पनि एक जनाले २० देखि २५ हजार रुपैयाँसम्म खर्च र समय बचत भएको बताए । लब्जी बहादुर कार्कीले काठमाडौँमै शिविर सञ्चालन भएकै कारण २०५४ सालदेखि बाँकी रहेको मालपोत दस्तुर बुझाउन पाएकोमा खुशी व्यक्त गरे ।

वडा नं ५ का अध्यक्ष अविरल वाइवाले सेवाग्राहीको खुसीयाली र जनप्रतिनिधिको आत्मसन्तुष्टि शिविरको सफलताको प्रमाण भएको बताए ।

पालिकाले आगामी वर्ष पनि यस्तै शिविर सञ्चालन गर्ने योजना बनाएको छ।