नेपाली कांग्रेसको भ्रातृसंस्थाहरूको महाधिवेशन सम्पन्न गर्न बनेको निर्देशन समितिले सोमबार अधिवेशनसम्बन्धी निर्देशिका पारित गरेको छ। पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको शीर्ष तहको बैठकले उक्त निर्णय गरेको हो।
बैठकमा उपसभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा लगायतका नेताहरू सहभागी थिए। प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार, महाधिवेशन सम्पन्न गर्न निर्देशन समितिले गर्ने काम, कर्तव्य र अधिकारका विषय समेटेर निर्देशिका तयार गरिएको हो।
कांग्रेसका सात भ्रातृसंस्थाले पटक–पटक म्याद थप्दा पनि महाधिवेशन गर्न नसकेपछि पार्टीले निर्देशन समिति गठन गरेको थियो।
निर्देशन समितिका संयोजकहरूमा तरुण दलका डीना उपाध्याय, नेविसंघका किशोरसिंह राठोर, महिला संघका डा. प्रकाशशरण महत, दलित संघका जीवन परियार, लोकतान्त्रिक खेलकुद संघका मोहन बस्नेत, किसान महासंघका रमेश रिजाल र थारू संघका उदयशम्शेर राणा रहेका छन्।
बैठकमा आएका सुझावहरूलाई समेटेर निर्देशिका पारित गरिएको समितिले जनाएको छ।
प्रतिक्रिया