महालक्ष्मी बैंकको चार पूर्वकर्मचारी पक्राउ

करिब तीन करोड रुपैयाँ हिनामिना

साझा प्रेस
50
Shares

दार्चुला – महालक्ष्मी बैंकको दार्चुला, शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरस्थित शाखाबाट करिब तीन करोड रुपैयाँ हिनामिनामा संलग्न भएको आरोपमा चार जना पूर्वकर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा तत्कालीन शाखा प्रबन्धक, डोटीका ३५ वर्षीय सागर शाही, नगद विभागमा कार्यरत शैल्यशिखर–९ की २९ वर्षीया निर्मला साउँद, ग्राहक सहायता कक्षमा कार्यरत बैतडी, पुर्चौडी नगरपालिका–३ का २८ वर्षीय अम्बादत्त पन्त र कर्जा विभागमा कार्यरत दार्चुला, लेकम गाउँपालिका–१ का ३१ वर्षीय धनन्जय पन्त रहेका छन्।

उनीहरूले बैंकको भल्टमा रहेको नगद गैरकानुनी तरिकाले भुक्तानी लिई बैंकलाई २ करोड ८४ लाख ७६ हजार ७०२ रुपैयाँ २९ पैसा नोक्सानी पुर्‍याएको आरोप छ।

चारै जनाको मिलेमतोमा रकम हिनामिना भएको भन्दै बैंकले दिएको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय दार्चुलाले उनीहरूलाई नियन्त्रणमा लिएको हो। जिल्ला अदालत दार्चुलाबाट ७ दिनको म्याद थप गरी बैंकिङ कसुर मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।