नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणका लागि खेलाडी अक्सन शनिबार काठमाडौंमा सम्पन्न भएको छ। १६४ खेलाडीको सूचीबाट विभिन्न फ्र्यान्चाइज टोलीहरूले ३७ खेलाडी अनुबन्ध गरेका छन्। अब विदेशी खेलाडी चयन मात्र बाँकी छ।
यस अक्सनपछि प्रत्येक टोलीको संरचना यसप्रकार रहेको छः
जनकपुर बोल्ट्स
अघिल्लो सिजनका मार्की आसिफ शेख र कप्तान अनिल साहसहित ७ खेलाडीलाई रिटेन गरेको जनकपुरले अक्सनबाट सचिन भट्ट, आदित्य महता, मयन यादवलाई अनुबन्ध गर्यो भने विशलिस्टबाट बिकाश आग्रीलाई ल्यायो।
सुदूरपश्चिम रोयल्स
गत सिजनका उपविजेता सुदूरपश्चिमले मार्की कप्तान दिपेन्द्रसिंह ऐरीसहित ६ खेलाडीलाई रिटेन गरेको थियो। अक्सनमा हेमन्त धामी, टेकबहादुर रावत, दिपेश थापा अनुबन्ध गर्यो भने विशलिस्टबाट दिपक बोहरा र मिलन बोहरा टोलीमा परे।
कर्णाली याक्स
मार्की सोमपाल कामीसहित ७ खेलाडीलाई रिटेन गरेको कर्णालीले अक्सनबाट पवन सर्राफ, इमरान शेख, दीपक डुम्रे र युवराज खत्रीलाई अनुबन्ध गर्यो।
चितवन राइनोज
मार्की कप्तान कुशल मल्लसहित ६ खेलाडीलाई रिटेन गरेको चितवनले अक्सनमा देव खनाल, अर्जुन साउदलाई ल्यायो। विशलिस्टबाट बिपिन रावल, बिपिन आचार्य र रन्जित कुमार अनुबन्ध भए।
काठमाण्डु गोर्खाज
करण केसी नेतृत्वको टोलीले अघिल्लो सिजनका ६ खेलाडीलाई रिटेन गर्दै अक्सनबाट उत्तम थापा मगर, तुलबहादुर थापा, सन्तोष यादव, आकाश त्रिपाठी र आदिल आलम अनुबन्ध गर्यो।
विराटनगर किङ्स
मार्की सन्दीप लामिछानेसहित ६ खेलाडीलाई रिटेन गरेको विराटनगरले अक्सनबाट सूर्य तामाङ, साहिल पटेल, नारायण जोशीलाई ल्यायो। विशलिस्टबाट शर्वन किस्कु र शंकर राना टोलीमा परे।
पोखरा एभेन्जर्स
मार्की कुशल भुर्तेलसहित ७ खेलाडीलाई रिटेन गरेको पोखराले अक्सनबाट अभिषेक तिवारी, अर्जुन कुमाल, कृष्ण पौडेललाई अनुबन्ध गर्यो। विशलिस्टबाट सन्दीप खत्री क्षेत्री टोलीमा परे।
लुम्बिनी लायन्स
मार्की कप्तान रोहित पौडेलसहित ६ खेलाडीलाई रिटेन गरेको लुम्बिनीले अक्सनबाट दिलिप नाथ, विशाल पटेल, शेर मल्ल अनुबन्ध गर्यो। विशलिस्टबाट दुर्गेश गुप्ता र आदिल खान ल्याइएका छन्।
दोस्रो संस्करणको एनपीएल अब विदेशी खेलाडी छनोटपछि अन्तिम तयारीमा प्रवेश गर्नेछ। प्रतियोगिता केही सातापछि सुरु हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया