नेवार समुदायको महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक पर्व गाईजात्रा आज काठमाडौं उपत्यकासहित देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिनसम्म मनाइने यस पर्वको आज विशेष दिन परेको हो।
एक वर्षभित्र दिवङ्गत आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी नगरपरिक्रमा गराउने परम्परा यस पर्वको मुख्य विशेषता हो। श्रद्धालुहरूले ती परिक्रमामा सहभागीहरूलाई दूध, फलफूल, रोटी, चिउरा, दही, अन्न तथा नगद दान गर्ने प्रचलन छ। धार्मिक विश्वास अनुसार यसरी नगरपरिक्रमा गर्दा मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समातेर वैतरणी पार गर्न सक्नेछन्।
ऐतिहासिक तथ्यअनुसार राजा प्रताप मल्लले पुत्रशोकमा डुबेकै अवस्थामा आम जनतालाई पनि यस्तै पीडा व्यहोर्नु पर्छ भन्ने देखाउन आफ्ना दिवङ्गत आफन्तका नाममा गाईजात्रा निकाल्ने आदेश दिएका थिए। पछि रानीको मन हलुका गराउन प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रमसमेत गर्ने आदेश दिएपछि यस पर्वमा हास्यव्यङ्ग्यको परम्परा सुरु भएको मानिन्छ।
प्रताप मल्लको पालादेखि सुरु भएको गाईजात्रा आजसम्म हनुमानढोकास्थित राजदरबार हुँदै जाने प्रथासहित मनाइन्छ। उपत्यकाबाहेक बनेपा, धुलिखेल, पनौती, बाह्रविसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौंडा, पोखरा लगायत नेवार समुदायको बसोबास भएको सहरमा पनि यस पर्वको विशेष उत्साह देखिन्छ।
यस पर्वको अर्को पक्ष सामाजिक विकृति र विसङ्गति विरुद्ध व्यङ्ग्यात्मक प्रस्तुतिहरू हो। पञ्चायती शासनकालमा व्यङ्ग्यका कारण एक समय प्रतिबन्धित यो पर्व विसं २०३३ पछि पुनः औपचारिक रूपमा झाँकी र हास्यव्यङ्ग्यसहित मनाउन थालिएको हो। पाटनमा देखाइने सत्ययुगको धान–चामलको नमूना र काठमाडौंको ठमेलमा प्रदर्शित स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तकहरू विशेष आकर्षणका रूपमा रहन्छन्।
आजको अवसरमा कलाकार, हास्यव्यङ्ग्यकार र स्थानीय बासिन्दाले विविध नाचगान, प्रहसन, व्यङ्ग्यात्मक प्रस्तुतिहरू, र रामायणका करुण रसका गीतहरू प्रस्तुत गरेका छन्। पत्रपत्रिकाहरूले पनि विशेष व्यङ्ग्याङ्क प्रकाशित गरेका छन्।
यस अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ।
प्रतिक्रिया