जनैपूर्णिमा र रक्षाबन्धन पर्व देशभर मनाइँदै, यस्ता छन् विशेषता र परम्परा

साझा प्रेस
0
Shares

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाको दिन मनाइने रक्षाबन्धन र जनैपूर्णिमा (ऋषितर्पणी) पर्व आज देशभर नयाँ यज्ञोपवीत र रक्षासूत्र धारण गरेर मनाइँदै छ।

वैदिक सनातन धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, ताल, पोखरी वा कुण्डमा स्नान गरी गुरु–पुरोहितबाट मन्त्रिएको रक्षासूत्र बाँध्ने गर्छन्। तागाधारीहरूले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत र डोरो धारण गरेमा नकारात्मक शक्तिबाट रक्षा हुने धार्मिक विश्वास छ।

पौराणिक कथाअनुसार सत्ययुगमा दानवराज बलीलाई गुरु वृहस्पतिले डोरो बाँधेर सुरक्षित बनाएका थिए। यही परम्परा आजसम्म रक्षाबन्धनको रूपमा चलिआएको हो। यसै क्रममा गुरु–पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल, तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल’ मन्त्र उच्चारण गर्दै यजमानको दाहिने हातमा डोरो बाँध्ने वैदिक प्रथा रहेको धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतम बताउँछन्।

तागाधारीको जनै फेर्ने दिन

आजको दिन ब्राह्मण, क्षत्री र वैश्य तीन वर्णका तागाधारीहरूले आफ्नो जनै फेर्ने विधान छ। यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि व्रत बसेर, कपाल मुण्डन गरी, चोखोनीतो बसिन्छ। पूर्णिमाको बिहान गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका प्रयोग गरी पोखरी, नदी वा कुण्डमा स्नान गरिन्छ, जसलाई श्रावणी स्नान भनिन्छ। त्यसपछि जौ, तिल र कुशले ऋषिहरूलाई तर्पण गरी, वैदिक विधिबाट मन्त्रिएको नयाँ यज्ञोपवीत धारण गरिन्छ।

अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा र तर्पण गर्ने भएकाले यस दिनलाई ऋषितर्पणी पनि भनिन्छ।

पशुपतिनाथ, वसन्तपुरस्थित अशोकविनायक, वाग्मती नदी किनार र देशभरका प्रमुख मठ–मन्दिरहरूमा बिहानैदेखि भक्तजनको भीड लाग्ने गर्छ।

क्वाँटी खाने परम्परा

जनैपूर्णिमामा एघार थरी गेडागुडी मिसाएर बनाइएको ‘क्वाँटी’ खाने प्रचलन छ। अङ्कुराइएको गेडागुडीको झोल खानाले रोग प्रतिरोधात्मक क्षमता बढ्ने, पेट सफा हुने र वर्षायाममा शरीरमा लागेको चिसो हट्ने धार्मिक तथा आयुर्वेदिक विश्वास छ। आयुर्वेद चिकित्सक डा. वंशदीप शर्मा खरेलका अनुसार क्वाँटीको रसले रुघाखोकीजस्ता चिसोसम्बन्धी रोग पनि कम हुन्छ।

तराईमा राखीको चलन

तराई क्षेत्रमा आजकै दिन दिदी–बहिनीले दाजुभाइलाई राखी बाँधेर रक्षाबन्धन मनाइन्छ। यसले दिदी–बहिनी र दाजुभाइबीचको प्रेम र आपसी सम्बन्ध अझ प्रगाढ बनाउने विश्वास गरिन्छ। हाल यो परम्परा पहाडी क्षेत्रमा पनि विस्तार हुँदै गएको छ।

तीर्थस्थलमा मेला

आजको अवसरमा काठमाडौंको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधामस्थित धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु तथा नवलपरासीको त्रिवेणीधामलगायतका कुण्ड, ताल र पोखरीमा बिहानैदेखि मेलाहरू लागेका छन्।