प्रतिनिधि सभाको बैठक आज (मंगलबार) दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा विभिन्न विधेयक पारित र छलफल गर्ने कार्यसूचीहरू तय भएका छन् ।
बैठकको प्रमुख कार्यसूचीमा ‘वैकल्पिक वित्त परिचालन विधेयक, २०८१’ पारित गर्ने प्रस्ताव रहेको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले उक्त विधेयक दफावार छलफल गरियोस् भन्ने प्रस्ताव सदनमा पेश गर्नेछन् । त्यसपछि प्राप्त संशोधन प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।
बैठकमा अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, र युवा तथा खेलकुद मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीहरूले दिने कार्यक्रम पनि रहेको छ । त्यस्तै, कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले
‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२’ संसदमा पेश गर्ने कार्यक्रम छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सदनमा पेस गर्नेछन् ।
प्रतिक्रिया