नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको छैठौं मुख्यमन्त्री नियुक्त हुँदैछन् ।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज (मंगलबार) दिउँसो ४ बजे उनलाई पद तथा गोपनीयताको सपथ गराउने कार्यक्रम तय भएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।
कांग्रेस प्रदेश सभापतिसमेत रहेका बानियाँले सोमबार नै मुख्यमन्त्री बन्ने दाबी पेश गरेका थिए । उनले आफ्नो पार्टीका ३७ सांसद र सत्ता साझेदार एमालेका २७ सांसदको कुल ६४ जनाको समर्थनसहित सरकार गठनको दाबी पेस गरेका थिए ।
११० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५६ सांसदको समर्थन आवश्यक पर्छ।
यसअघि कांग्रेसबाट नै मुख्यमन्त्री रहेका बहादुरसिंह लामाले आइतबार राजीनामा दिएका थिए। राजीनामा स्वीकृत भएलगत्तै प्रदेश प्रमुख देवकोटाले सोमबार सरकार गठनका लागि संविधानको धारा १६८ (२) अनुसार बहुमत प्राप्त सदस्यबाट नयाँ सरकार गठनका लागि दाबी गर्न आह्वान गरेका थिए।
बागमती प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेबीच २०–२० महिनाका लागि मुख्यमन्त्री नेतृत्व गर्ने सहमति भएको थियो। जसअनुसार बानियाँले आगामी ८ महिना मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्नेछन्, र त्यसपछि फागुनमा एमालेले नेतृत्व लिने बताइएको छ।
आजै मन्त्रिपरिषद् विस्तारको तयारी
बानियाँले मुख्यमन्त्रीको सपथ लिएलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । कांग्रेसका एक सांसदका अनुसार, कांग्रेस र एमाले दुबै पक्षबाट केही मन्त्रीहरू नियुक्त गरिनेछन्।
बागमती प्रदेश सभाको दलगत स्थिति
- नेपाली कांग्रेस – ३७
- नेकपा एमाले – २७
- माओवादी केन्द्र – २१
- राप्रपा – १३
- नेकपा (एकीकृत समाजवादी) – ७
- नेमकिपा – ३
- हाम्रो नेपाली पार्टी – २
दलभित्रको प्रतिस्पर्धा र नयाँ नेतृत्व
आन्तरिक विवादपछि ९ साउनमा आफ्नै पार्टीको सांसदबाट अविश्वास प्रस्ताव दर्ता भई १३ साउनमा भएको मतदानमा बहादुरसिंह लामा अल्पमतमा परेका थिए। त्यसपछि १४ साउनमा भएको निर्वाचनमा बानियाँले दलको नेतामा जित हासिल गरेका थिए।
प्रतिक्रिया