खराब मौसमका कारण यमनको दक्षिणी तट अब्यान नजिकै आप्रवासीहरू सवार एउटा डुङ्गा डुब्दा कम्तीमा ६८ जनाको ज्यान गएको छ।
अन्तर्राष्ट्रिय आप्रवासन संगठन (IOM) ले पुष्टि गरेको जानकारी अनुसार, डुङ्गामा झन्डै १५७ जना सवार थिए। तीमध्ये १२ जनालाई मात्र जीवित उद्धार गरिएको छ भने दर्जनौं अझै हराइरहेका छन्।
IOM यमन प्रमुख अब्दुसत्तोर एसोएभका अनुसार, दुर्घटनामा परेका धेरैजसो इथियोपियाली नागरिक थिए। ती खाडी मुलुकहरूतर्फ रोजगारीको खोजीमा हिंडेका थिए। डुङ्गा मानव तस्करहरूद्वारा प्रयोग गरिने खतरनाक र अवैध समुद्री मार्ग हुँदै यात्रा गरिरहेको थियो।
अब्यान प्रान्तका सुरक्षाकर्मीहरूले तटीय क्षेत्रमा ठूलो खोजी तथा उद्धार अभियान चलाइरहेका छन्। समुद्री किनारको विस्तृत क्षेत्रमा धेरै शवहरू फेला परेका छन्।
IOM ले हर्न अफ अफ्रिका – जसमा इथियोपिया, सोमालिया, जिबूती र एरिट्रिया समेटिन्छ – बाट यमन हुँदै खाडी मुलुक जान चाहने आप्रवासीहरूको यात्रा मार्गलाई “सबैभन्दा व्यस्त र सबैभन्दा खतरनाक मिश्रित बसाइँसराइ मार्ग” भनेर वर्णन गरेको छ।
IOM को तथ्याङ्क अनुसार, २०२४ को सुरुदेखि हालसम्म ६०,००० भन्दा बढी आप्रवासीहरू यमनमा प्रवेश गरिसकेका छन्। गत दशकमा मात्रै ३,४०० भन्दा बढी आप्रवासीहरूको मृत्यु वा बेपत्ता भएको छ, जसमा १,४०० भन्दा बढी डुबेर मृत्यु भएको बताइएको छ।
अब्दुसत्तोर एसोएभले भने, “हामी सदस्य राष्ट्रहरूसँग आग्रह गर्दैछौं कि उनीहरूले आप्रवासनका वैध, सुरक्षित र नियमित विकल्पहरू विस्तार गरून्, जसले गर्दा आप्रवासीहरू तस्करहरूको जालमा नफसुन्।”
यमन अझै पनि दशकौंदेखिको गृहयुद्धको चपेटामा छ। इरान समर्थित हुथी समूहले २०१४ देखि राजधानी सानासहित उत्तर-पश्चिमी क्षेत्रको नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया