खुम्बुपासाङल्हामू गाउँपालिकाको एकीकृत सेवा काठमाण्डौमा शुरु

साझा प्रेस
150
Shares

“गाउँपालिकाको सेवा अब घरदैलोमै” भन्ने भावनालाई सार्थक बनाउने खालको नवीन पहल खुम्बु पासाङल्हामु गाउँपालिकाले थालेको छ।

काठमाडौंको चुच्चे पाटीमा अस्थायी रूपमा बसोबास गरिरहेका आफ्ना नागरिकलाई लक्षित गर्दै गाउँपालिकाले चार दिनसम्मका लागि एकीकृत सेवा केन्द्र सञ्चालनमा ल्याएको हो ।

भौगोलिक विकटता र मौसमको प्रतिकूलताका कारण समयमै गाउँ फर्कन नसक्ने नागरिकका लागि यो सेवा महत्वपूर्ण बन्न पुगेको छ। सेवा सुरु भएको पहिलो दिनमै सामाजिक सुरक्षा भत्ता नवीकरण, नागरिकता सम्बन्धी सेवा, र व्यवसाय दर्ता लगायतका ९६ जनाले सेवा लिएका छन् ।

खुम्बु पासाङल्हामु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज गौतमका अनुसार यो सेवा सामाजिक सुरक्षा भत्ता नवीकरणको बाध्यता, र राजधानीमा बसोबास गरिरहेका नागरिकको व्यवहारिक कठिनाइलाई मध्यनजर गरेर सुरु गरिएको हो । उनका अनुसार पहिलो दिन ६२ जनाले सामाजिक सुरक्षा भत्ता नवीकरण, २१ जनाले घटना दर्ता, र १३ जनाले राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा लिएका छन् ।

गाउँपालिकाले साउन १८ देखि २१ गतेसम्म चार दिनसम्म सेवा सञ्चालन गर्ने जनाएको छ। साथै, नागरिकको आवश्यकतालाई ध्यान दिँदै आगामी दिनमा पनि यस्ता घुम्ती सेवाहरू अन्य स्थानमा विस्तार गर्ने तयारी रहेको गौतमले बताएका छन् ।

सहरी क्षेत्रमा अस्थायी रूपमा बसोबास गर्ने उच्च हिमाली नागरिकका लागि यो सेवा सानो प्रयास जस्तो देखिए पनि राज्यसेवा पहुँचको दृष्टिले ठूलो छलाङ भएको विश्लेषण गर्न सकिन्छ। विकट ठाउँका नागरिकले पनि अधिकारप्राप्त गर्न सजिलो होस् भन्ने सोचसँगै सुरुआत गरिएको यो सेवा अब भविष्यमा स्थानीय सरकारहरूको कार्यशैलीको नयाँ मोडल बन्ने सम्भावना देखिएको छ।