बहादुरसिंह लामाको राजीनामा आज दर्ता हुँदै

नयाँ सरकार गठनको प्रक्रिया सुरू हुने तयारी

साझा प्रेस
50
Shares

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाको राजीनामा पत्र आज सोमबार प्रदेश प्रमुखको कार्यालयमा दर्ता गरिँदैछ। लामाले आइतबार साँझ पत्रकार सम्मेलन गरी मुख्यमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका थिए। तर कार्यालय बन्द भएकाले पत्र बुझाउन नसकेका उनले सचिवालयमार्फत पत्र पठाएका थिए।

लामा नेपाली कांग्रेसका तर्फबाट मुख्यमन्त्री बनेका थिए तर आफ्नै पार्टीका बहुमत सांसदहरूले दर्ता गराएको अविश्वास प्रस्तावको सामना गर्न नसकेपछि तथा संसदीय दलको नेताको निर्वाचनमा इन्द्रबहादुर बानियाँसँग पराजित भएपछि नैतिक संकटमा परेका थिए। यही परिस्थितिका कारण उनले राजीनामा दिएको जनाइएको छ।

राजीनामा दिनुअघि लामाले तीन जना मन्त्री—गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरूङ—लाई नियुक्त गरेका थिए। तर १५ साउनमा हुने भनिएको उनीहरूको सपथग्रहण कार्यक्रम सोही दिन बिहान प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा उपचारका लागि काठमाडौं गएकाले स्थगित भएको थियो। देवकोटा हाल ललितपुरको भैंसेपाटीस्थित सरकारी निवासमा छन् र आज हेटौंडा फर्किने तयारीमा रहेको उनका सचिवालयले जनाएको छ।

मुख्यमन्त्री लामाको राजीनामा स्वीकृत भएपछि प्रदेश प्रमुख देवकोटाले नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गर्नेछन्। प्रदेश सरकार गठनका लागि ५६ जना बहुमत सांसदको हस्ताक्षर आवश्यक पर्नेछ।

१४ साउनमा सम्पन्न नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचनमा विजयी भएका इन्द्रबहादुर बानियाँले नेकपा एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरिरहेका छन्।

यससँगै बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया औपचारिक रूपमा सुरू हुने भएको छ।