बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भएको तीन बुँदे सहमतिपछि पदबाट राजीनामा दिन तयार भएका छन् ।
आज सभापति देउवाको निवास बुढानीलकण्ठमा भएको छलफलमा सहभागी सांसद रामकृष्ण चित्रकारका अनुसार मुख्यमन्त्री लामाले भोलि राजीनामा दिने भएका हुन् ।यसअघि संसदीय दलको नेताको निर्वाचनमा इन्द्र बानियाँसँग पराजित भएपछि लामाले राजीनामा नदिने अडान लिएका थिए।
तर पछिल्लो सहमतिले दलभित्रको विवाद टुंगिएको देखिएको छ।
तीन बुँदे सहमतिअनुसार:
१.मुख्यमन्त्री लामा भोलि राजीनामा दिने,
२.आफूले नियुक्त गरेका तीन मन्त्रीलाई शपथ गराउने,
३.दलभित्र एकता कायम गर्दै नयाँ नेतृत्वलाई समर्थन गर्ने
मुख्यमन्त्री लामाले पराजयपछि पनि गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्रीमा नियुक्त गरे पनि उनीहरूले अझैसम्म शपथ लिएका छैनन्।
अब बन्ने इन्द्र बानियाँ नेतृत्वको सरकारमा उनीहरूको सहभागिता सुनिश्चित भएको चित्रकारले जानकारी दिए । यस सहमतिसँगै बागमती प्रदेशको सत्ता हस्तान्तरण प्रक्रियामा स्पष्टता आएको छ।
प्रतिक्रिया