ट्रम्पद्वारा रोजगारी तथ्याङ्क प्रमुख बर्खास्त

साझा प्रेस
50
Shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले श्रम तथ्याङ्क ब्यूरो (BLS) की प्रमुख एरिका म्याकेन्टरफरलाई अचानक बर्खास्त गरेका छन्। रोजगारी वृद्धिमा देखिएको तीव्र गिरावटपछि उनले “राजनीतिक उद्देश्यले तथ्याङ्क हेरफेर गरिएको” आरोप लगाउँदै सामाजिक सञ्जालमार्फत बर्खास्तको घोषणा गरेका हुन् ।

राष्ट्रपति ट्रम्पले, “हामीलाई सही रोजगारी तथ्याङ्क चाहिन्छ। यस्ता झूटा तथ्याङ्कले मलाई र मेरो पार्टीलाई बदनाम गरिरहेको छ।” यद्यपि, उनले यस आरोपको समर्थनमा कुनै प्रमाण प्रस्तुत गरेका छैनन्।

BLS को हालैको रिपोर्टअनुसार जुलाई महिनामा अमेरिकी रोजगार बजारमा मात्र ७३,००० नयाँ रोजगारी थपिएको देखाइएको छ। साथै, मे र जुन महिनाका तथ्याङ्कमा करिब २,५०,००० भन्दा बढी रोजगारी कमी देखिएको थियो, जुन आर्थिक विशेषज्ञहरूले चिन्ताजनक मानेका थिए। ट्रम्पले यिनै तथ्यमाथि असन्तुष्टि जनाउँदै म्याकेन्टरफरमाथि “डेटा हेरफेर” को आरोप लगाए।

सरकारको हस्तक्षेपप्रति विशेषज्ञहरूको चिन्ता

पूर्व BLS अधिकारीहरू र अर्थशास्त्रीहरूले ट्रम्पको निर्णयलाई “डेटा प्रणालीको स्वतन्त्रतामाथिको हमला” भनेका छन्। अक्सफोर्ड इकोनोमिक्सका प्रमुख अमेरिकी अर्थशास्त्री रायन स्वीटले भने, “यसले सरकारी तथ्याङ्कमाथि नागरिकको विश्वास डगमगाउन सक्छ।” अमेरिकी इन्टरप्राइज इन्स्टिच्युट र पीटरसन इन्स्टिट्युटका विश्लेषकहरूले म्याकेन्टरफरको “इमानदार र व्यावसायिक” कार्यप्रति सम्मान व्यक्त गरेका छन्।

ट्रम्प प्रशासनले हालै विश्वव्यापी आयातमा १०% देखि ५०% सम्मका नयाँ ट्यारिफ लगाउने घोषणा गरेको छ। यससँगै अमेरिकाका प्रमुख शेयर बजारहरू — S&P 500, Dow, Nasdaq — मा करिब १.५% गिरावट आएको छ। युरोप र एसियाली बजारहरूमा समेत गिरावट देखिएको छ।

रोजगारी तथ्याङ्कको विवादसँगै ट्रम्पले अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ का अध्यक्ष जेरोम पावेलमाथि पनि आक्रमण गर्दै “मुद्रास्फीति नियन्त्रणमा सुस्त” भएको आरोप लगाएका छन्। फेड बोर्ड सदस्य एड्रियाना कुग्लरले राजीनामा दिएपछि ट्रम्पलाई नयाँ सदस्य नियुक्त गर्ने अवसर मिलेको छ, जसले वित्तीय नीतिमा थप प्रभाव पुर्याउने संकेत दिएको छ।