एनपीएल पहिलो संस्करणबाट क्यानलाई २ करोड मुनाफा

साझा प्रेस
50
Shares

नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणबाट नेपाल क्रिकेट संघ (क्यान) ले २ करोड ४६ लाख ५० हजार ७८९ रुपैयाँ बचत गरेको छ।

बिहीबार बसेको एनपीएल परिचालन परिषद्को बोर्ड बैठकमा प्रस्तुत गरिएको आय–व्यय विवरणअनुसार प्रतियोगिताबाट उल्लेखनीय आम्दानी र मितव्ययी खर्च व्यवस्थापनका कारण यो बचत हुन सकेको हो।

क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार, एनपीएलको पहिलो संस्करणबाट कुल २७ करोड ६९ लाख ६४ हजार ८१८ रुपैयाँ आम्दानी भएको हो। सोही प्रतियोगिता सम्पन्न गर्न २० करोड १५ लाख ७३ हजार ५५९ रुपैयाँ खर्च गरिएको जानकारी दिइएको छ।

फ्रेन्चाइज टोली र प्रदेशलाई पनि लाभ

बचत रकममध्ये ५० प्रतिशत अर्थात् ४ करोड ३७ लाख ४० हजार ४७० रुपैयाँ आठवटै फ्रेन्चाइज टोलीलाई बाँडिएको छ। यस्तै, ७० लाख रुपैयाँ प्रदेश क्रिकेट विकासका लागि विनियोजन गरिएको छ। बाँकी २ करोड ४६ लाख ५० हजार ७८९ रुपैयाँ क्यानको खातामा बचत भएको हो।

क्यानले यो बचत रकमलाई आगामी दिनमा घरेलु क्रिकेटको विकास, खेलाडी प्रशिक्षण तथा आधारभूत पूर्वाधार निर्माणमा लगानी गर्ने योजना बनाएको बताइएको छ।

नेपाल प्रिमियर लिगको पहिलो संस्करणलाई सफल मानिँदै आएको छ, जसले नेपाली क्रिकेटको व्यावसायिकता र खेलाडीको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको बताइएको छ।